• Tuesday 6th of October 2026

दलित युवकसँग विवाह गरेकी युवतीको प्रहरी कार्यालयमै चक्कु प्रहार गरी हत्या


  • धनकुटा खबर
  • .

भारत । भारतको उत्तर प्रदेशस्थित बाँदा जिल्लामा गत शुक्रबार साँझ एक बुवाले आफ्नी १९ वर्षीया छोरी शिवानीको प्रहरी कार्यालय (थाना) भित्रै चक्कु प्रहार गरेर हत्या गरेपछि घटनालाई लिएर गम्भीर प्रश्न उठ्न थालेका छन् ।

प्रहरीले शिवानी र ललित वर्मालाई मध्य प्रदेशको बरौंधाबाट पक्राउ गरी थानामा ल्याएर सोधपुछ गरिरहेको बेला यो घटना भएको हो । बाँदा प्रहरी प्रमुख पलाश बंसलका अनुसार घटनाको अनुसन्धानका क्रममा थानाध्यक्ष अजीत प्रताप सिंह, एक सब–इन्स्पेक्टर (एसआई) र एक महिला प्रहरीलाई लाइन हाजिर गरिएको छ । शिवानीले गत मे १८ मा घर छोडेर आफ्नो रोजाइका युवक ललित वर्मासँग विवाह गरेकी थिइन् । युवती ओबीसी समुदायकी थिइन् भने युवक दलित समुदायका थिए ।

थानामा के भएको थियो ?

प्रहरीका अनुसार, शिवानीलाई सुरक्षित रूपमा फेला पारेर थानामा ल्याइएको थियो । कानुनी प्रक्रियाअनुसार उनका आमा बुबालाई पनि खबर गरिएको थियो । थानामा काउन्सिलिङ भइरहेको बेला शिवानीले आफू बालिग भएको र ललितसँगै बस्न चाहेको बताएकी थिइन् । बदौसा थानाध्यक्ष अजीत प्रताप सिंहका अनुसार, जब बुवाले छोरी आफ्नो कुरा नमानेको महसुस गरे, उनले खल्तीबाट चक्कु निकालेर शिवानीमाथि आक्रमण गरे । गम्भीर घाइते भएकी शिवानीलाई तत्काल अस्पताल लगिएको थियो तर चिकित्सकहरूले उनलाई मृत घोषणा गरे ।

के भन्छिन् शिवानीकी आमा ?

शिवानीकी आमा रन्नो देवीले आफ्नै श्रीमानले छोरीमाथि आक्रमण गरी हत्या गरेको बताएकी छन् । उनले भनिन्, ‘यदि छोरीले हाम्रो पक्षमा बोलेकी भए राम्रो हुन्थ्यो । शहरमा अन्तरजातीय विवाह चल्छ, तर गाउँमा हामीलाई समाजमा मुख देखाउन गाह्रो हुन्छ । उनीहरू हाम्रो बराबरीका होइनन् ।’

किन उठिरहेका छन् प्रश्न ?

स्थानीय गाउँपालिका अध्यक्ष विनोद गान्धीले प्रहरी सुरक्षाभित्रै यस्तो घटना कसरी भयो भन्ने प्रश्न उठाएका छन् । उनका अनुसार, शिवानी र ललितले पक्राउ नगर्न अदालतबाट संरक्षण (स्टे) लिएका थिए र त्यसको सूचना जुन १० मै थानामा पुगेको थियो । त्यसपछि पनि प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको आरोप लगाइएको छ । उनले भने, ‘सबैभन्दा ठूलो प्रश्न थानाभित्र, प्रहरीको उपस्थितिमा कसरी हत्या हुन सक्छ ? हाम्रो जिल्लामा थानाभित्रै हत्या भएको यो पहिलो घटना हो ।’

प्रेम सम्बन्ध र विवाह

शिवानी र ललित छिमेकी थिए र बाल्यकालदेखि नै एकअर्कालाई चिन्दथे । समयसँगै उनीहरूको सम्बन्ध प्रेममा परिणत भएको थियो । स्थानीयका अनुसार, उनीहरूको प्रेम सम्बन्ध करिब सात वर्ष पुरानो थियो । परिवारको विरोधका बाबजुद उनीहरूले घर छोडेर विंध्यवासिनी मन्दिरमा विवाह गरेका थिए र विवाह दर्ताका लागि उच्च अदालतमा पनि आवेदन दिएका थिए । घटनापछि युवतीका बुवाविरुद्ध हत्या मुद्दा दर्ता गरिएको छ भने प्रहरीले आफ्नै भूमिकाबारे पनि अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖