• Wednesday 7th of October 2026

क्यानडामा सडक दुर्घटनामा परी दुई नेपाली विद्यार्थीको मृत्यु


  • धनकुटा खबर
  • .

काठमाडौ । सुनौलो भविष्यको सपना साँचेर अध्ययनका लागि भोजपुरकी लाक्पा याञ्जी शेर्पा क्यानडा पुगेकी थिइन्। सन् २०२६ जुन ११ गते उनको निधन भएको छ। मध्य क्यानडाको ओन्टारियो सहरमा गाडी दुर्घटना हुँदा उनीसँगै कास्कीका राजीव श्रेष्ठको पनि मृत्यु भएको छ।

लाक्पा नर्सिङको विद्यार्थी थिइन्। राजीवले आइटी अध्ययन गरिरहेका थिए।

गैरआवासीय नेपाली संघ (एनआरएनए) क्यानडाका अनुसार २२ वर्षीय लाक्पा ओन्टारियोकै टोरन्टोस्थित फ्लेमिङ कलेजबाट नर्सिङको अध्ययन भर्खर पूरा गरेकी थिइन्। राजीवले टोरन्टोको महक कलेजमा आइटीको अध्ययन गरेका थिए।

जुन ९ र १० मा लाक्पाको कलेज फ्लेमिङमा दीक्षान्त समारोह थियो। उनीहरु दीक्षान्त समारोहमा सहभागी भएर घर फर्किने क्रममा दुर्घटनामा परेका हुन्। दुर्घटनापछि उनीहरु चढेको एसयुभी गाडीमा आगो लागेको थियो।

ओन्टारियो प्रदेश प्रहरीले स्थानीय सञ्चारमाध्यमलाई बताएको भनाइ उदृत गर्दै नेपालटच डट कमले जनाएअनुसार दुर्घटनापछि गाडीमा आगो लागेको थियो। उनीहरुको घटनास्थलमै मृत्यु भएको थियो।

एनआरएनए क्यानडाका अध्यक्ष जगन सापकोटाका अनुसार दुवै विद्यार्थीको शव टोरन्टोस्थित अस्पतालमा राखिएको छ। अभिभावकको आग्रहमा युवतीको शव नेपाल लैजान प्रक्रिया सुरु गरिएको छ। युवकको अन्त्येष्टि कहाँ गर्ने निश्चित छैन।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖