• Tuesday 6th of October 2026

गोरेटो बाटोमा भेटिएको शवको रहस्य खुल्यो : श्रीमती र छोराले गरे हत्या


  • धनकुटा खबर
  • .

कालिकोट, असार ६ — कालिकोटमा एक व्यक्तिको हत्या उनकै श्रीमती र छोराले गरेको खुलासा भएको छ।

जिल्लाको सान्नीत्रिवेणी गाउँपालिका–४ का ४८ वर्षीय सूर्यबहादुर शाही गत जेठ २७ गते सान्नीत्रिवेणी गाउँपालिका–९ सुपेचौरस्थित गोरेटो बाटोमा मृत अवस्थामा फेला परेका थिए।

जिल्ला प्रहरी कार्यालय कालिकोटका सूचना अधिकारी प्रहरी निरीक्षक गणेश ज्ञवालीका अनुसार घटनाको अनुसन्धानका क्रममा सूर्यबहादुरको हत्या उनकै १८ वर्षीय छोरा रुपेश शाही र ४१ वर्षीया श्रीमती राजकला शाहीले गरेको खुलेको हो।

प्रहरीका अनुसार घटना भएको दिन आमा–छोराले सूर्यबहादुरको टाउकोमा ढुङ्गाले प्रहार गरेका थिए। सोही चोटका कारण उनको मृत्यु भएको अनुसन्धानबाट पुष्टि भएको प्रहरीले जनाएको छ।

घटनामा संलग्न रुपेश र राजकलालाई शुक्रबार पक्राउ गरिएको छ। उनीहरूविरुद्ध कर्तव्य ज्यान मुद्दामा अदालतबाट ७ दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक ज्ञवालीले जानकारी दिए।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖