काठमाडौ । न्यूनचापीय प्रणाली (हावाको चाप कम भएको क्षेत्र) बनेर उत्तरपश्चिम सरिरहेको छ । यो प्रणाली नेपालको तराईनजिक हुने र देशभर वर्षा गराउने आकलन छ ।
आइतबारदेखि वर्षाका गतिविधि बढेका छन् । अब देशभर मनसुन विस्तार हुने तथा मंगलबार र बुधबार सबैतिर पानी पर्ने देखिन्छ । यसमा पनि बिहान र राति बढी पानी पर्नेछ ।
आज (सोमबार) देशभर बादल लाग्नेछ । कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी र हिमाली भूभागका धेरै स्थानमा, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका पहाडी र हिमाली भू–भागका केही स्थानमा मध्यमसम्म वर्षा हुनेछ । तराई भूभागका केही स्थानमा मात्र वर्षा हुने देखिन्छ । कोशीका पहाडी र तराई भूभागका एक–दुई स्थानमा भने भारी वर्षाको समेत सम्भावना छ ।
सोमबार राति भने कर्णाली र सुदूरपश्चिमका पहाडी भूभागका थोरै स्थानमा पनि पानी पर्ने देखिन्छ । राति मधेश तथा कोशी, बागमती, गण्डकीका तराईका धेरै तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका केही स्थानमा वर्षाको सम्भावना छ ।
कोशीका थोरै स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना छ । मधेश, बागमती, गण्डकी प्रदेशको एक–दुई स्थानमा पनि भारी वर्षाको सम्भावना छ ।
