• Monday 5th of October 2026

हृदयघातका बीच १४ यात्रुको ज्यान जोगाएर बिदा भए चालक चन्द्रबहादुर बुढाथोकी


  • धनकुटा खबर
  • .

चितवन । चितवनको रत्ननगरमा हृदयविदारक तर प्रेरणादायी घटना भएको छ। हृदयघातको पीडा सहँदै अन्तिम क्षणसम्म सवारीको नियन्त्रण कायम राखेर १४ जना यात्रुको ज्यान बचाएका माइक्रोबस चालक चन्द्रबहादुर बुढाथोकीको निधन भएको छ।

बारा निवासी ५५ वर्षीय बुढाथोकीले चलाएको बागमती प्रदेश ०३–००१ ज ११२४ नम्बरको विद्युतीय माइक्रोबस नारायणगढबाट वीरगञ्जतर्फ १४ जना यात्रु बोकेर गइरहेको थियो।

रत्ननगरको टिकौली पुल नजिक पुगेपछि उनले पानी पिएलगत्तै छातीमा असहजता महसुस गरेका थिए। तीव्र हृदयघातका कारण अवस्था गम्भीर बन्दै गए पनि उनले धैर्यता गुमाएनन्। आफ्नो ज्यान जोखिममा परेको अवस्थामा समेत उनले माइक्रोबसलाई बिस्तारै सडकको सुरक्षित किनारतर्फ लगेर रत्ननगरस्थित कृष्ण मन्दिर प्रहरी बिट नजिक सुरक्षित रूपमा रोके।

सवारी पूर्ण रूपमा रोकिएलगत्तै उनी स्टेरिङमै ढले। त्यसपछि यात्रु र स्थानीयवासीले तत्काल उद्धार गरी अस्पताल पुर्‍याएका थिए। तर चिकित्सकले उनलाई मृत घोषणा गरे। प्रारम्भिक जानकारीअनुसार उनको हृदयघातका कारण मृत्यु भएको हो।

यदि उनले अन्तिम क्षणमा सवारीको नियन्त्रण गुमाएका भए ठूलो सडक दुर्घटना हुन सक्ने अवस्था थियो। तर अन्तिम साससम्म कर्तव्य निभाउने उनको अदम्य साहस र संयमताका कारण माइक्रोबसमा सवार सबै १४ जना यात्रु सकुशल रहे।

आफ्नो कर्तव्यप्रतिको असाधारण समर्पण, जिम्मेवारीबोध र साहसका कारण चालक चन्द्रबहादुर बुढाथोकी धेरै नेपालीका मनमा सदैव ‘वीर चालक’का रूपमा स्मरणीय रहनेछन्।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖