• Monday 5th of October 2026

कार्यकक्षमै प्रमुख प्रशासकीय अधिकृत माथि कुटपिट


  • धनकुटा खबर
  • .

चितवन । इच्छाकामना गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चन्द्रकान्त बस्नेतमाथि कार्यकक्षमै निर्माण व्यवसायीको समूहले कुटपिट गरेको घटना सार्वजनिक भएको छ।

गाउँपालिकाका अनुसार बिहीबार बिहान करिब ११ बजे किङफिसर कन्सट्रक्सनका सञ्चालक लालबहादुर तामाङसहित ६ जनाको समूह गाउँपालिकाको कार्यालयमा पुगेर बस्नेतमाथि हातपात गरेको हो।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डीएसपी चन्द्रभूषण यादवका अनुसार घटनापछि घाइते भएका बस्नेतलाई इच्छाकामना आधारभूत अस्पतालमा उपचारका लागि भर्ना गरिएको छ। उनको टाउको, मुख, नाक तथा शरीरका अन्य भागमा चोट लागेको प्रहरीले जनाएको छ।

गाउँपालिकाका एक कर्मचारीका अनुसार खोलाबाट ढुंगागिट्टी उत्खननसम्बन्धी मुद्दामा गाउँपालिकाले जिल्ला अदालत चितवनबाट आफ्नो पक्षमा फैसला गराएपछि त्यसको रिसइबीमा आक्रमण भएको दाबी गरिएको छ। उक्त मुद्दाको सुनुवाइ बुधबार भएको थियो।

प्रहरीले घटनाबारे अनुसन्धान भइरहेको जनाएको छ।

उक्त घटनापछि गाउँपालिकाका सम्पूर्ण कर्मचारीले असुरक्षाको कारण देखाउँदै कामकाज ठप्प पारेका छन्। कर्मचारीहरूले सामूहिक विज्ञप्ति जारी गर्दै दोषीमाथि कडा कानुनी कारबाही नभएसम्म नियमित काममा फर्किन नसक्ने बताएका छन्।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖