काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि)को उपकुलपतिमा प्रा.डा. भोला थापा नियुक्त भएका छन्। कुलपतिसमेत रहेका प्रधानमन्त्री बालेन्द्र शाहले शुक्रबार उनलाई उपकुलपतिमा नियुक्त गरेका हुन्।
नयाँ बानेश्वर निवासी डा. थापाले सन् १९८३ मा ल्याबोरेटरी हाई स्कुलबाट प्रथम श्रेणीमा एसएलसी उत्तीर्ण गरेका थिए। त्यसपछि उनले अमृत साइन्स कलेजबाट विज्ञान विषयमा प्रविणता प्रमाणपत्र तह (पीसीएल) पूरा गरेका थिए।
नेपाल सरकारको कोलम्बो प्लान छात्रवृत्तिअन्तर्गत भारतको पञ्जाब इन्जिनियरिङ कलेजबाट उनले सन् १९९१ मा मेकानिकल इन्जिनियरिङमा स्नातक (बीई) गरेका हुन्। त्यसपछि भारतकै बिरला इन्स्टिच्युट अफ टेक्नोलोजी एन्ड साइन्सबाट सन् १९९९ मा स्नातकोत्तर (एमई) तथा नर्वेको नर्वेजियन युनिभर्सिटी अफ साइन्स एन्ड टेक्नोलोजीबाट सन् २००४ मा ‘स्याण्ड इरोजन इन हाइड्राउलिक मेसिनरी’ विषयमा विद्यावारिधि (पीएचडी) गरेका छन्।
डा. थापा सन् १९९४ मा विश्वविद्यालयमा लेक्चररका रूपमा प्रवेश गरेका थिए भने सन् २००८ देखि प्राध्यापकका रूपमा कार्यरत छन्। उनले काठमाडौं विश्वविद्यालयको मेकानिकल इन्जिनियरिङ विभाग प्रमुख, स्कुल अफ इन्जिनियरिङका डिन (२००८–२०१६) तथा विश्वविद्यालयका रजिस्ट्रार (२०१३–२०१८) को जिम्मेवारी पनि सम्हालिसकेका छन्।
उनी सन् २०२१ को जनवरीदेखि २०२५ को जनवरीसम्म काठमाडौं विश्वविद्यालयका उपकुलपतिका रूपमा कार्यरत थिए। त्यसभन्दा अघि सन् २०१७ डिसेम्बरदेखि २०१८ जनवरीसम्म कार्यवाहक उपकुलपतिको जिम्मेवारीसमेत निर्वाह गरेका थिए।
डा. थापाले चिकित्सा शिक्षा आयोग, सुदूरपश्चिम विश्वविद्यालयको सभा (सिनेट) तथा नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) को प्राज्ञिक सभाका सदस्यका रूपमा पनि योगदान दिएका छन्।
जलविद्युत् टर्बाइनमा बालुवा तथा थेग्रानका कारण हुने क्षति र त्यसको न्यूनीकरणसम्बन्धी विषयमा केन्द्रित रहेर उनले विभिन्न पुस्तक, पुस्तकका अध्याय तथा अन्तर्राष्ट्रिय जर्नलमा दर्जनौँ अनुसन्धानमूलक लेख प्रकाशित गरेका छन्।
शिक्षा क्षेत्रमा पुर्याएको योगदानका लागि उनले सन् १९९३ मा नेदरल्यान्ड्स फेलोसिप तथा सन् १९९८ (विसं २०५४) को शिक्षा दिवसमा स्वर्ण पदकलगायत विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पुरस्कार र छात्रवृत्ति प्राप्त गरेका छन्।
