काठमाडौं । नेपाल भारत सीमा नाकामा लागूऔषध कारोबारी र प्रहरीबीच गोली हानाहान भएको छ । लागूऔषध नियन्त्रणका लागि खटिएको संयुक्त टोलीमाथि सिरहाको नवराजपुर गाउँपालिका–५ झाझपट्टीस्थित सीमा क्षेत्रमा तस्करहरूले गोली चलाएपछि प्रहरीले जवाफी फायर गरेको हो ।
त्यसक्रममा कटुवा पेस्तोल र ब्राउन सुगरसहित एक भारतीय नागरिक पक्राउ परेका छन् । प्रहरीका अनुसार भारतबाट दुईवटा मोटरसाइकलमा लागूऔषधसहित चार जना नेपालतर्फ आउँदै गरेको गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय सिरहा, लागूऔषध नियन्त्रण ब्युरो गोलबजार तथा इलाका प्रहरी कार्यालय महेशपुर पतारबाट टोली खटिएको थियो ।
चेकजाँचका क्रममा प्रहरीले रोक्न खोज्दा खोज्दै बिआर ३२ एआर ६०२४ नम्बरको मोटरसाइकलमा सवार व्यक्तिहरू भागेका थिए । त्यसपछि उनीहरूले प्रहरीमाथि नै कटुवा पेस्तोलबाट एक राउन्ड गोली प्रहार गरेको र यताबाट पनि दुई राउन्ड जवाफी फायर खोलेको प्रहरीले जनाएको छ ।
जवाफी फायरका क्रममा भारतको बिहार राज्य, मधुबनी जिल्ला, बिरपुर ग्राम पञ्चायत–३ का करिब ३५ वर्षीय अब्दुल कलामको बायाँ खुट्टामा गोली लागेको छ । उनलाई नियन्त्रणमा लिएर उपचारका लागि प्रादेशिक अस्पताल सिरहामा भर्ना गरिएको र अहिले अवस्था मध्यम रहेको जनाइएको छ ।
प्रहरीले मोटरसाइकल खानतासी गर्दा एक थान कटुवा पेस्तोल र १२२.८० ग्राम ब्राउन सुगर बरामद गरेको जानकारी दिएको छ । बरामद लागूऔषध, पेस्तोल र मोटरसाइकल जिल्ला प्रहरी कार्यालय सिरहामा राखिएको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको छ ।
