• Monday 5th of October 2026

दुई दिनमै ४ छोरी गुमाएकी २५ वर्षीया विष्णु विक


  • धनकुटा खबर
  • .

गुल्मी । गुल्मीको मदाने गाउँपालिकाकी २५ वर्षीया विष्णु विकले एकैपटक चार छोरीलाई जन्म दिएकी छन्। दुर्लभ मानिने यो घटनामा जन्मिएका चारै नवजात शिशुको भने निधन भएको छ।

शनिबार सुत्केरी व्यथा लागेपछि गाउँका स्थानीय महिलाको सहयोगमा उनलाई प्युठान अस्पताल लगिएको थियो। अस्पताल पुग्नुअघि नै दुई छोरीको जन्म भएको थियो भने बाँकी दुई छोरी अस्पताल पुगेपछि जन्मिएका थिए।

सुरुमा जन्मिएका दुई नवजातको तत्कालै मृत्यु भएको थियो। बाँकी दुई छोरी जीवित रहे पनि जन्मेको २४ घण्टा नबित्दै शनिबार राति क्रमशः ३ बजे र ६ बजे उनीहरूको पनि प्युठान अस्पतालमै निधन भएको अस्पतालले जनाएको छ।

प्युठान अस्पतालका निमित्त प्रमुख आभास योगीका अनुसार जन्मिएका सबै शिशुको तौल ८ सय ग्रामभन्दा कम थियो। विष्णुले गर्भावस्थाको करिब २९ सातामै शिशु जन्माएकी थिइन्, जबकि सामान्य गर्भावधि करिब ४० साता हुन्छ। समयअघि जन्मिएका कारण शिशुको श्वासप्रश्वास प्रणाली पूर्ण रूपमा विकसित नभएकाले उनीहरूलाई बचाउन नसकिएको अस्पतालको भनाइ छ।

डा. योगीका अनुसार समयपूर्व जन्मिएका शिशुलाई सास फेर्न गाह्रो भएको थियो, जसका कारण उपचारका क्रममा उनीहरूको मृत्यु भयो।

अस्पतालका अनुसार विष्णुले गर्भावस्थाभर नियमित स्वास्थ्य परीक्षण गराउँदै आएकी थिइन्। एउटा शिशु उल्टो अवस्थामा रहेकाले उनलाई उपचारका लागि प्युठान अस्पताल लगिएको थियो।

हाल आमा विष्णु विकको स्वास्थ्य अवस्था खतरामुक्त रहेको अस्पतालले जनाएको छ। केही दिनभित्र उनलाई डिस्चार्ज गरिने तयारी गरिएको छ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖