एजेन्सी । सम्पत्ति हडप्ने नियतले २३ वर्षीया एक भारतीय युवतीले आफ्नै विधवा आमाको हत्या गर्न ७ लाख रुपैयाँमा ‘कन्ट्याक्ट किलर’ भाडामा लिएको खुलासा भएको छ । ती युवतीले सम्पत्तिको साथै बाआमाको मृत्युपछि सन्तानले पाउने सरकारी जागिरको लोभमा आमाको हत्या गरेकी हुन् ।
आयुषी शर्मा नाम गरेकी ती युवतीले यो क्रूर हत्यालाई एउटा सामान्य सडक दुर्घटना जस्तो देखाउन खोजेकी थिइन् । तर, उनले प्रहरीको अनुसन्धान छल्न सकिनन् । आमाको हत्या आरोपमा पक्राउ परिन् ।
प्रहरीका अनुसार विगत तीन महिनादेखि यो हत्याको योजना बनाइएको थियो । जुलाई ३ का दिन भारतको जयपुरमा ४५ वर्षीया नीरज शर्मालाई १३० किलोमिटर प्रतिघण्टाको रफ्तारमा आएको एउटा एसयूभीले ठक्कर दिएको थियो । तीव्र गतिको सवारीले किल्चिँदा उनको घटनास्थलमै मृत्यु भएको थियो ।
यस घटनामा पुलिसले नीरजकी छोरी आयुषी, उनका ठूलोबुबा मोहन स्वरूप (५६), सुपाडी लिएर हत्या गर्ने हेमन्त शर्मा (२०) र अन्य चार जना सहयोगीलाई पक्राउ गरेको छ । आयुषीका दाजु बलराम भने अहिले फरार छन् ।
नीरजका श्रीमान् विजय कुमार शर्मा अदालतमा कार्यरत थिए । एक वर्षअघि उनको मृत्यु भयो । विजयको मृत्यु भएपछि उनकी पत्नी नीरजले सोही ठाउँमा सरकारी जागिर पाएकी थिइन् । तर, छोरी आयुषी भने त्यो जागिर आफूले पाउनुपर्ने दाबी गर्थिन् । ‘आमाले मेरो भविष्य बर्बाद गरिन्’ भन्दै आयुषीले आफ्नै आमाको ज्यान लिने योजना बनाएको प्रहरी अनुसन्धानबाट खुलेको छ ।
