• Monday 5th of October 2026

आत्मदाह प्रयास गर्ने पुरुष पठाओ चालक, महानगर प्रहरीले गरेको थियो मोटरसाइकलमा ‘ह्वील लक’


  • धनकुटा खबर
  • .

काठमाडौं । काठमाडौंको त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि बिहीबार दिउँसो आफ्नै शरीरमा आगो लगाएर आत्मदाह प्रयास गर्ने व्यक्तिको पहिचान खुलेको छ। प्रहरीका अनुसार उनी मुगुको सोरु गाउँपालिका–१ घर भई हाल भक्तपुर बस्ने २५ वर्षीय गणेश नेपाली हुन्।

प्रहरी स्रोतका अनुसार गणेश नेपाली पेसाले पठाओ (राइड सेयरिङ) चालक हुन्। प्रारम्भिक अनुसन्धानमा काठमाडौं महानगरपालिकाको नगर प्रहरीले पार्किङ निषेधित क्षेत्रमा मोटरसाइकल राखेको भन्दै ‘ह्वील लक’ लगाएपछि उनी आवेशमा आएर आत्मदाहको प्रयास गरेको खुलेको छ।

बिहीबार दिउँसो करिब १:४५ बजे राहदानी विभागको ३ नम्बर गेट नजिक उनले आफू चढेर आएको मोटरसाइकलबाट पेट्रोल निकालेर शरीरमा छर्किएर आगो लगाएका थिए। घटनाअघि नगर प्रहरीसँग मोटरसाइकलको विषयमा विवाद भएको पनि अनुसन्धानबाट खुलेको छ।

घटनास्थलमा रहेका प्रहरी टोलीले तत्काल आगो निभाई उनको उद्धार गरी महाबौद्धस्थित वीर अस्पतालको बर्न युनिटमा उपचारका लागि भर्ना गरेको थियो।

जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवन भट्टराईका अनुसार गणेश नेपालीको अवस्था गम्भीर छ। उनको शरीरका विभिन्न भाग जलेका छन् भने उनी सामान्य रूपमा केही बोल्न सक्ने अवस्थामा रहेका छन्।

प्रहरीले घटनाको कारण र परिस्थितिबारे थप अनुसन्धान जारी रहेको जनाएको छ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖