काठमाडौं, असार २६ — त्रिपुरेश्वरस्थित राहदानी विभागअगाडि आफ्नै शरीरमा आगो लगाएर आत्मदाहको प्रयास गरेका मुगुका गणेश नेपालीको उपचारका क्रममा निधन भएको छ।
काठमाडौं प्रहरीका प्रवक्ता एसपी पवन भट्टराईका अनुसार वीर अस्पतालमा भेन्टिलेटरमा उपचाररत नेपालीको शुक्रबार बिहान ११:२० बजे निधन भएको हो।
घटनापछि गम्भीर अवस्थामा रहेका नेपालीलाई थप उपचारका लागि भारत लैजाने तयारी गरिएको थियो। तर स्वास्थ्य अवस्था अत्यन्त जटिल बनेपछि चिकित्सकले अस्थिर अवस्थामा बाहिर लैजान उपयुक्त नहुने सुझाव दिएका कारण यात्रा स्थगित गरिएको थियो।
वीर अस्पतालका चिकित्सकका अनुसार नेपालीको प्रारम्भिक शल्यक्रिया गरिएको भए पनि स्वास्थ्य अवस्थामा सुधार आउन सकेन। उनको अनुहार, टाउको, घाँटी र छातीमा गम्भीर जलन भएको थियो भने शरीरका भित्री अंगहरूमा समेत असर पुगेको बताइएको छ।
नेपालीले बिहीबार राहदानी विभागको प्रवेशद्वारअगाडि शरीरमा आगो लगाएका थिए। घटनापछि प्रहरीले तत्काल उद्धार गरी उपचारका लागि वीर अस्पताल पुर्याएको थियो।
