• Monday 5th of October 2026

‘दाइ, मेरो गल्ती थिएन…’ गणेश नेपालीका दाइले सुनाए अन्तिम संवाद


  • धनकुटा खबर
  • .

काठमाडौं । त्रिपुरेश्वरस्थित राहदानी विभागअगाडि आत्मदाह गरेका २५ वर्षीय गणेश नेपालीका दाइ मदन नेपालीले भाइसँग भएको अन्तिम संवाद सम्झँदै भावुक बनेका छन्। वीर अस्पतालमा गणेशको निधनअघि आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले गणेशका अन्तिम शब्द सार्वजनिक गरेका हुन्।

मदन नेपालीका अनुसार गणेश पेसाले पठाओ चालक थिए। मुगुको सोरु गाउँपालिका–१ स्थायी घर भएका उनी पछिल्लो समय भक्तपुरको कमलविनायकमा बस्दै आएका थिए।

मदनले गणेशलाई त्यस दिन बिहान आफूले नै पठाओ चलाउन पठाएको बताए। बाइकको किस्ता तिर्नुपर्ने भएकाले छिट्टै काममा निस्कन भनेको उनले सुनाए।

“पर्सि–निकपर्सि बाइकको किस्ता तिर्ने दिन थियो। मैले नै बिहान उठाएर पठाओ गर्न जाऊ भनेको थिएँ। अरूलाई डिस्टर्ब नहोस् भनेर उसले बाइक स्टार्ट नगरी सडकसम्म डोर्‍याएर लगेको थियो। बिहान मैले बनाएको सिमी र खुट्टाको मासु पनि नखाई ऊ काममा निस्किएको थियो,” उनले भने।

दिउँसो प्रहरीले फोन गरेर गणेशले पेट्रोल छर्केर शरीरमा आगो लगाएको जानकारी दिएपछि आफू तत्काल वीर अस्पताल पुगेको उनले बताए।

अस्पतालमा गणेशसँग भएको अन्तिम संवाद सम्झँदै मदन भावविह्वल बने।

“म पुग्दा उसको बोली अलिअलि फुटिरहेको थियो। उसले ‘दाइ, बाबा–मम्मीलाई राम्रोसँग हेरिदिनु’ भन्यो। त्यसपछि दुईपटक ‘दाइ, मेरो गल्ती थिएन है, मेरो गल्ती थिएन’ भन्यो।”

मदनका अनुसार आफूले घटना के भएको हो भनेर सोध्दा गणेशले छोटकरीमा भनेका थिए—

“मेरो गल्ती थिएन। ह्वील लक लगायो… ह्वील लक लगाउँदा–लगाउँदै ट्राफिक आयो…”

त्यसपछि गणेशको बोल्ने शक्ति क्रमशः हराउँदै गएको उनले बताए।

प्रहरीले प्रारम्भिक अनुसन्धानमा काठमाडौं महानगरपालिकाको नगर प्रहरीले मोटरसाइकलमा ह्वील लक लगाएपछि उत्पन्न विवाद र तनावबीच गणेशले आत्मदाहको प्रयास गरेको देखिएको जनाएको छ। घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖