• Monday 5th of October 2026

गणेश नेपालीको निधनमा दीपकराज गिरी भन्छन्, ‘सरकारको पहिलो विकेट पतन भयो’


  • धनकुटा खबर
  • .

काठमाडौँ, असार २६ — त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि आत्मदाहको प्रयास गरेका मुगुको सोरु गाउँपालिका–१ निवासी २५ वर्षीय गणेश नेपालीको उपचारका क्रममा निधन भएपछि सामाजिक सञ्जालमा शोक र सरकारको आलोचना भइरहेको छ। यसक्रममा केही कलाकारहरूले पनि आफ्नो धारणा सार्वजनिक गरेका छन्।

हास्य कलाकार दीपकराज गिरीले सामाजिक सञ्जालमार्फत सरकारप्रति कटाक्ष गर्दै लेखेका छन्, “अपार जनसमर्थन रहेको सरकारको पहिलो विकेट पतन भएको छ।” उनको उक्त अभिव्यक्तिलाई धेरैले सरकारको कार्यशैलीप्रतिको आलोचनाका रूपमा टिप्पणी गरेका छन्।

यस्तै, कलाकार **सीताराम कट्टेल ‘धुर्मुस’**ले गणेश नेपालीप्रति श्रद्धाञ्जली व्यक्त गर्दै आफूले गणेशमा आफ्नै पीडा र संघर्षको प्रतिबिम्ब देखेको उल्लेख गरेका छन्।

उनले लेखेका छन्, “गणेश नेपालीप्रति हार्दिक श्रद्धाञ्जली। लामो समयदेखि पीडा, निराशा र उकुसमुकुसका बीच बाँचिरहेको म गणेश नेपालीमा आफ्नै प्रतिबिम्ब देख्छु। राज्य सबै नागरिकको साँचो अभिभावक बनोस्।”

धुर्मुसले देशमा सम्मानपूर्वक श्रम गरेर बाँच्न सकिने वातावरण निर्माण गर्न सरकारसँग आग्रह गर्दै भविष्यमा कुनै पनि नेपालीले निराशाको अन्तिम विकल्पका रूपमा आत्मदाह रोज्नुपर्ने अवस्था नआओस् भन्ने कामना पनि व्यक्त गरेका छन्।

गणेश नेपालीले बिहीबार त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि आफ्नै शरीरमा पेट्रोल छर्केर आगो लगाएका थिए। शरीरको करिब ५५ प्रतिशत भाग जलेपछि वीर अस्पतालमा उपचारका क्रममा शुक्रबार बिहान उनको निधन भएको थियो। घटनाको वास्तविक कारणबारे अनुसन्धान जारी छ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖