• Sunday 4th of October 2026

केप भर्डेका गोलकिपर भोजिन्हाको सम्मानमा समुद्री जीवको नामकरण


  • धनकुटा खबर
  • .

केप भर्डे । विश्वकपमा केप भर्डेका लागि उत्कृष्ट प्रदर्शन गरेर विश्वभर चर्चा कमाएका गोलकिपर भोजिन्हाले अर्को एउटा नौलो सम्मान पाएका छन्। हालै पत्ता लागेको समुद्री शङ्खेकीरा (सी स्लग) को एक नयाँ प्रजातिको नाम यी गोलकिपरको नामबाट राखिएको छ।

क्यारिबियन क्षेत्रमा जीववैज्ञानिक जेसस ओर्टियाले पत्ता लगाएको सानो रातो रङ्गको उक्त जीवको नाम ‘अल्डिसा भोजिन्हा’ राखिएको हो। ४० वर्षीय भेट्रान गोलकिपरले आफ्नो सानो राष्ट्रका लागि विश्वकपमा पुर्‍याएको योगदानको कदर गर्दै जीववैज्ञानिक ओर्टियाले यो नाम छनोट गरेका हुन्।

केप भर्डे विश्वकपमा पुग्ने इतिहासकै दोस्रो सबैभन्दा सानो राष्ट्र हो। समूह चरण पार गरेर अन्तिम ३२ को खेलमा साविक विजेता अर्जेन्टिनासँग अतिरिक्त समयमा ३-२ को हार बेहोर्नुअघि केप भर्डेले उत्कृष्ट चुनौती दिएको थियो। त्यसअघि भोजिन्हाकै उत्कृष्ट प्रदर्शनका कारण केप भर्डेले युरोपेली च्याम्पियन स्पेनसँग गोलरहित बराबरी खेल्दै विश्वकपमा आफ्नो पहिलो अङ्क जोडेको थियो।

जीववैज्ञानिक ओर्टियाले आफ्नो प्रतिवेदनमा भोजिन्हाको ‘प्रमुख भूमिका’ लाई सम्मान गर्न चाहेको उल्लेख गरेका छन्। स्पेन टोलीको उपनाम ‘ला रोजा’ भएकाले पनि भोजिन्हाको सम्मानमा नामकरण गरिएको जीवको रातो रङ्गले उनको ऐतिहासिक सफलताको सम्झना गराउने प्रतिवेदनमा भनिएको छ।

स्पेनविरुद्धको खेलमा भोजिन्हाको प्रदर्शनले उनको लोकप्रियता रातारात निकै बढेको थियो। उनको इन्स्टाग्राममा रहेका ५० हजार फलोअर्स एकाएक बढेर १७.४ मिलियन पुगेका थिए। यो सङ्ख्या एनएफएल लिजेन्ड टम बार्डी जस्ता प्रख्यात खेलाडीको भन्दा पनि बढी हो।

युनिभर्सिटी अफ ओभिएडोका प्राध्यापक एमेरिटस रहेका ७५ वर्षीय ओर्टिया फुटबलका ठुला प्रशंसक हुन्। उनले केप भर्डेको समुद्री क्षेत्रमा गरेको अनुसन्धानका लागि सन् २०२३ मा सो टापु राष्ट्रबाट मेडल अफ मेरिट समेत प्राप्त गरेका थिए।

ओर्टियाले फुटबल र विज्ञानको आफ्नो रुचिलाई मिसाएको यो पहिलो पटक भने होइन। यसअघि उनले कोस्टारिकामा पत्ता लागेको एउटा जीवको नाम त्यहाँका पूर्व गोलकिपर केयलर नाभासको नामबाट राखेका थिए। नाभासले रियल मड्रिड, पेरिस सेन्ट जर्मेन र नटिङ्घम फरेस्टबाट समेत खेलिसकेका छन्।

त्यसै गरी स्पेनिस क्लब स्पोर्टिङ गिजोनको जर्सीको जस्तै रङ्ग भएको अर्को एउटा सानो जीवको नाम क्लबका पूर्व स्ट्राइकर क्विनीको नामबाट राखिएको थियो।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖