काठमाडौं, असार २७ — झापा, जाजरकोट, तनहुँ, बाँके र काभ्रेका विभिन्न स्थानमा पाँच जना मृत अवस्थामा फेला परेका छन्। घटनाबारे प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।
प्रहरीका अनुसार झापाको मेचीनगर नगरपालिका–१२, देवी वस्तु टोल निवासी ३७ वर्षीया बिनिता कार्की बुढाथोकी शुक्रबार आफ्नै घरमा मृत अवस्थामा फेला परेकी हुन्।
त्यसैगरी, जाजरकोटको भेरी नगरपालिका–६ खलङ्गादेखि नेटा जाने सडकखण्ड नजिक सोही स्थानका ५७ वर्षीय धर्मबहादुर शाही शुक्रबार मृत अवस्थामा भेटिएका छन्।
तनहुँको घिरिङ गाउँपालिका–४ स्थित कालीगण्डकी नदीमा शनिबार करिब ४० वर्षीय एक पुरुषको शव फेला परेको छ। उनको परिचय खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ।
यस्तै, बाँकेको राप्तीसोनारी गाउँपालिका–३ बैसा स्थित प्रतिक्षालयमा सोही गाउँपालिका–४ कुम्मर निवासी ५५ वर्षीय सुखाराम थारू (हलैया) शनिबार मृत अवस्थामा फेला परेका छन्।
काभ्रेको भुम्लु गाउँपालिका–८ स्थित इन्द्रावती खोलाको बगर नजिक सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी नगरपालिका–११ भिमटार निवासी ५१ वर्षीय खिलबहादुर माझी पनि शनिबार मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ।
प्रहरीले पाँचै घटनाको कारण खुल्न बाँकी रहेको भन्दै आवश्यक अनुसन्धान अघि बढाइएको जनाएको छ।
