धनगढी । बझाङको केदारस्यूँ गाउँपालिका–७ सुङगरेमा शनिबार दिउँसो बोलेरो जिप दुर्घटना हुँदा कम्तीमा तीन जनाको घटनास्थलमै मृत्यु भएको प्रारम्भिक जानकारी प्राप्त भएको छ।
गाउँपालिका अध्यक्ष गणेशबहादुर बोहराका अनुसार दुर्घटना निकै गम्भीर भएकाले मृतक तथा घाइतेको संख्या बढ्न सक्ने आशंका गरिएको छ। भौगोलिक रूपमा दुर्गम क्षेत्र भएकाले घटनाको विस्तृत विवरण आउन बाँकी छ।
जिल्ला प्रहरी कार्यालय बझाङका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) टेकबहादुर जोराका अनुसार दुर्घटनाको खबर प्राप्त भएपछि प्रहरी टोली घटनास्थलतर्फ खटिएको छ। दुर्गम भूगोलका कारण घटनाको आधिकारिक विवरण संकलन हुन समय लागेको प्रहरीले जनाएको छ।
प्रारम्भिक जानकारीअनुसार जिपमा १५ देखि १६ जना सवार रहेको अनुमान गरिएको छ। यात्रुको यकिन संख्या तथा मृतक र घाइतेको आधिकारिक विवरण भने अझै पुष्टि भएको छैन।
गाउँपालिका अध्यक्ष बोहराका अनुसार जिप सडकबाट करिब ३०० मिटर तल खसेको थियो। दुर्घटनापछि स्थानीयवासी घाइतेको उद्धारमा जुटेका छन्। गम्भीर घाइतेको उद्धारका लागि हेलिकोप्टर परिचालन गर्ने विषयमा सम्बन्धित निकायसँग समन्वय भइरहेको उनले बताए।
प्रहरीले घटनाबारे थप विवरण संकलन गरिरहेको जनाएको छ।
