सर्लाही — सर्लाहीको गोडैता नगरपालिका–१० सिसौटियाका ३५ वर्षीय विवेक मण्डलले शुक्रबार आफ्नै शरीरमा आगो लगाएर आत्मदाहको प्रयास गरेका छन्। गम्भीर घाइते भएका उनलाई थप उपचारका लागि काठमाडौंको कीर्तिपुरस्थित बर्न अस्पतालमा ल्याइएको छ।
प्रहरीका अनुसार शुक्रबार दिउँसो मण्डलले आफ्नै शरीरमा आगो लगाएका थिए। प्रारम्भिक उपचारका लागि उनलाई प्रादेशिक अस्पताल मलङ्गवा लगिएको थियो। त्यहाँ उपचार सम्भव नभएपछि शुक्रबार साँझ नेपाली सेनाको हेलिकप्टरमार्फत कीर्तिपुरस्थित बर्न अस्पताल रेफर गरिएको हो।
परिवारका अनुसार विज्ञान विषयमा स्नातकोत्तर (एमएस्सी) गरेका मण्डल करिब एक वर्षअघिसम्म महोत्तरीको गौशालास्थित एक विद्यालयमा तीन वर्ष शिक्षकका रूपमा कार्यरत थिए। विद्यालयभित्रको राजनीतिक चलखेलका कारण जागिर छोड्नुपरेको परिवारको दाबी छ।
शिक्षण पेसा छाडेपछि उनले विभिन्न शैक्षिक संस्थामा रोजगारी खोजेका थिए भने लोक सेवा आयोगका परीक्षामा पनि सहभागी भएका थिए। तर कुनै पनि प्रयास सफल नभएपछि उनी निराश र मानसिक तनावमा परेको परिवारले जनाएको छ।
उनकी श्रीमती रिनादेवी मण्डलका अनुसार उच्च शिक्षा हासिल गर्न परिवारले ठूलो लगानी गरेको भए पनि अपेक्षाअनुसार रोजगारी नपाउँदा उनी चिन्तित रहने गर्थे। आमा मन्टुटिया देवीका अनुसार आर्थिक अभाव, बेरोजगारी र मानसिक तनावका कारण उनको केही समयअघि उपचारसमेत गरिएको थियो।
परिवारका अनुसार विवेकको अध्ययन र घरखर्चका लागि गाउँघर तथा बैंकबाट लिएको करिब ३५ लाख रुपैयाँ ऋण अझै तिर्न बाँकी छ। उनी श्रीमती, एक छोरा र एक छोरीसहितको परिवारका सदस्य हुन्।
हाल विवेकको कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचार भइरहेको छ। परिवारले उपचार खर्च व्यवस्थापन गर्न कठिनाइ भइरहेको जनाएको छ।
