• Monday 5th of October 2026

गणेश नेपालीका दाई भन्छन् : कतिपय पत्रकारले सरकार बिरुद्द बोल्न उचाल्न खोजेका थिए तर मैले कसैलाई पनि अन्तर्वार्ता दिएन


  • धनकुटा खबर
  • .

काठमाडौ । आत्मदाह प्रयासपछि उपचारका क्रममा निधन भएका गणेश नेपालीका दाइले सरकारले उपचारमा कुनै कमी नगरेको बताएका छन्। पत्रकार दिवाकर साहसँगको कुराकानीमा उनले सरकारले आफ्नो तर्फबाट आवश्यक सबै प्रयास गरेको दाबी गरेका हुन्।

दिवाकर साहले “सरकारले उपचार गर्नुपर्नेमा कतै चुकेको जस्तो लाग्छ?” भन्ने प्रश्न राख्दा गणेश नेपालीका दाइले सरकारको बचाउ गर्दै भने, “त्यस्तो कतै चुकेको जस्तो लागेन। प्रधानमन्त्री कार्यालयबाट पनि टोली खटिएको थियो। स्वयं गृहमन्त्री पनि उपस्थित हुनुभएको थियो। भाइलाई थप उपचारका लागि दिल्ली लैजाने तयारी पनि भएको थियो। तर, भाइ बच्न सकेन।”

अन्तर्वार्ताका क्रममा पत्रकार दिवाकर साहले सरकारले आफ्नो तर्फबाट उपचारका लागि आवश्यक पहल गरेको देखिएको उल्लेख गर्दै केही पत्रकार र अभियन्ताले घटनालाई राजनीतिक रूपमा प्रयोग गरेकोप्रति दुःख व्यक्त गरे। उनले “कतिपय पत्रकार र अभियन्ताले लासमाथि राजनीति गरेको र भ्युजका लागि घटनालाई प्रयोग गरेको देख्दा दुःख लाग्यो। म पनि पत्रकार नै हुँ,” भने।

दिवाकर साहका अनुसार केही पत्रकारहरूले गणेश नेपालीका दाइलाई सरकारविरुद्ध बोल्नसमेत सुझाव दिएको दाबी गरेका छन्। यसबारे प्रतिक्रिया दिँदै गणेश नेपालीका दाइले पनि केही व्यक्तिले आफूलाई उचाल्ने र सरकारविरुद्ध अभिव्यक्ति दिन प्रेरित गर्ने प्रयास गरेको बताए।

उनले “कतिपय पत्रकारले उचाल्न खोजेका थिए। तर मैले कसैलाई पनि अन्तर्वार्ता दिएको थिइनँ,” भने।

गणेश नेपालीको मृत्यु प्रकरणलाई लिएर राजनीतिक दल, अभियन्ता र सामाजिक सञ्जालमा तीव्र बहस भइरहेका बेला परिवारबाट आएको यो अभिव्यक्तिले घटनाबारे नयाँ बहस सुरु गराएको छ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖