काठमाडौं — क्यान्सर गम्भीर रोग हो। समयमै पहिचान र उपचार हुन सके उपचारको सफलता बढ्ने भएकाले शरीरमा देखिने असामान्य लक्षणलाई बेवास्ता नगर्न चिकित्सकहरूले सुझाव दिएका छन्।
भारतको एसियन हस्पिटलका ओन्कोलोजी विभागका अध्यक्ष प्रोफेसर डा. पुनीत गुप्ताका अनुसार हरेक असामान्य लक्षण क्यान्सरको संकेत नहुन सक्छ। तर स्पष्ट कारणबिना देखिने वा लामो समयसम्म रहने लक्षणको जाँच गराउनु आवश्यक हुन्छ।
क्यान्सरका सम्भावित प्रारम्भिक संकेतहरू:
१. बिना कारण तौल घट्नु
खानपान वा व्यायाममा परिवर्तन नगरी अचानक शरीरको तौल ५–१० प्रतिशतसम्म घट्नु फोक्सो, पेट, प्यान्क्रियाजलगायतका क्यान्सरको संकेत हुन सक्छ।
२. लगातार थकान र कमजोरी
पर्याप्त आराम र निद्रापछि पनि निरन्तर थकान वा कमजोरी महसुस भइरहेमा स्वास्थ्य परीक्षण गराउनु उचित हुन्छ।
३. लामो समयसम्म ज्वरो आउनु
स्पष्ट कारणबिना दिनौँ वा हप्तौँसम्म ज्वरो दोहोरिरहनु, विशेषगरी रगतसम्बन्धी क्यान्सरको संकेत हुन सक्छ।
४. शरीरमा नयाँ गाँठो देखिनु
स्तन, घाँटी, काखी, अण्डकोष वा शरीरको अन्य भागमा नयाँ गाँठो देखिएमा तुरुन्त चिकित्सकीय जाँच गराउनुपर्छ।
५. दिसा वा पिसाबको बानीमा परिवर्तन
लामो समयसम्म कब्जियत, बारम्बार पखाला, दिसा वा पिसाबमा रगत देखिनु, बारम्बार पिसाब लाग्नु वा पिसाब फेर्न कठिनाइ हुनु ठूलो आन्द्रा, मूत्राशय वा प्रोस्टेटसम्बन्धी रोगको संकेत हुन सक्छ।
६. असामान्य रक्तस्राव
खोकीसँग रगत आउनु, दिसा वा पिसाबमा रगत देखिनु, रजोनिवृत्तिपछि महिलामा रक्तस्राव हुनु वा शरीरको कुनै भागबाट अस्पष्ट रूपमा रगत बग्नु गम्भीर संकेत हुन सक्छ।
७. निको नहुने घाउ वा मुखको अल्सर
मुख वा जिब्रोमा भएको घाउ वा अल्सर तीन हप्ताभन्दा बढी समयसम्म निको नहुने अवस्था मुखको क्यान्सरसहित अन्य गम्भीर रोगको संकेत हुन सक्छ। विशेषगरी सुर्तीजन्य पदार्थ सेवन गर्ने व्यक्तिले यस्ता लक्षणलाई बेवास्ता गर्नु हुँदैन।
चिकित्सकहरूका अनुसार कुनै पनि असामान्य लक्षण दुईदेखि तीन हप्ताभन्दा बढी समयसम्म रहिरहे, क्रमशः बढ्दै गए, वा तौल घट्ने, असामान्य रक्तस्राव, सास फेर्न गाह्रो हुने वा तीव्र दुखाइजस्ता लक्षण देखिएमा ढिलाइ नगरी विशेषज्ञ चिकित्सकसँग परामर्श लिनु आवश्यक छ। प्रारम्भिक पहिचानले उपचारलाई थप प्रभावकारी बनाउन मद्दत गर्न सक्छ।
