• Monday 5th of October 2026

महानगरविरुद्ध ज्यानसम्बन्धी कसुरमा जाहेरी दिन प्रहरी पुगे गणेश नेपालीका परिवार


  • धनकुटा खबर
  • .

काठमाडौं, असार २९ — आफ्नै शरीरमा पेट्रोल खन्याएर आगो लगाई ज्यान गुमाएका मुगुका २५ वर्षीय गणेश नेपालीका परिवार काठमाडौं महानगरपालिका र घटनास्थलमा खटिएका नगर प्रहरीविरुद्ध ज्यानसम्बन्धी कसुरमा जाहेरी दिन प्रहरी वृत्त कालिमाटी पुगेका छन्।

प्राप्त जानकारीअनुसार मृतकका परिवारले काठमाडौं महानगरपालिका र घटनामा संलग्न नगर प्रहरीलाई प्रतिवादी बनाएर जाहेरी दर्ता गराउने तयारी गरेका हुन्।

प्रहरी वृत्त कालिमाटीका डीएसपी नरेशकुमार सिंहका अनुसार सोमबार बिहान मृतकका परिवार कानुनी परामर्शका लागि प्रहरी कार्यालय पुगेका थिए। कानुन व्यवसायीको सल्लाहअनुसार उनीहरू ज्यानसम्बन्धी कसुरमा जाहेरी तयार गर्न लेखापढी व्यवसायीकहाँ गएको उनले बताए।

डीएसपी सिंहले भने, “हामीकहाँ अहिलेसम्म जाहेरी दर्ता भएको छैन। जाहेरी आएपछि दर्ता हुने–नहुने, प्रतिवादी को–को हुने र के आधारमा मुद्दा अघि बढ्ने भन्ने विषयमा त्यसपछि मात्रै प्रक्रिया अगाडि बढ्छ।”

गत बिहीबार त्रिपुरेश्वरस्थित राहदानी विभागको गेट नम्बर ३ अगाडि गणेश नेपालीले मोटरसाइकल पार्किङ गरेपछि काठमाडौं महानगरपालिकाका नगर प्रहरीले सवारीमा ह्वील लक लगाएका थिए। त्यसपछि नगर प्रहरीसँग उनको विवाद भएको थियो।

विवादलगत्तै गणेशले मोटरसाइकलको ट्यांकीबाट पेट्रोल निकालेर आफ्नै शरीरमा खन्याई आगो लगाएका थिए। गम्भीर घाइते भएका उनको उपचारका क्रममा मृत्यु भएको थियो।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖