दैलेख। परिवारको आर्थिक अवस्था सुधार्ने सपना बोकेर दुबई गएका दैलेखका २६ वर्षीय भक्तबहादुर नेपालीको २० दिन नपुग्दै मृत्यु भएको छ। उनको शव बिहीबार नेपाल ल्याइएपछि आइतबार परिवारले बुझेर दैलेख लगेको छ।
पश्चिम दैलेखको चामुण्डा बिन्द्रासैनी नगरपालिका–५ बस्तेकोटका भक्तबहादुर असार १२ गते रोजगारीका लागि दुबई गएका थिए। परिवारका अनुसार उनी भारत हुँदै दुबई पुगेका थिए र सुरक्षित पुगेको जानकारी पनि दिएका थिए।
तर, असार १४ गते कम्पनीले उनको मृत्यु भएको खबर परिवारलाई दिएको थियो। कम्पनीले भक्तबहादुरले भवनको छतबाट हाम फालेर ज्यान गुमाएको जनाएको भए पनि घटनाको वास्तविक कारण अझै खुल्न सकेको छैन।
शव बुझ्न काठमाडौं पुगेका स्थानीय वसन्त शर्माका अनुसार कम्पनीबाट प्राप्त प्रारम्भिक जानकारीमा उनी घटनाअघि तनावग्रस्त देखिएको र भवनको सिँढीमा तलमाथि गरिरहेको उल्लेख गरिएको छ। तर परिवारले उनी नेपालबाट जाँदा कुनै मानसिक समस्या वा असामान्य व्यवहार नदेखिएको बताएको छ।
भक्तबहादुर यसअघि भारतमा मौसमी रोजगारी गर्दै आएका थिए। परिवारको आर्थिक अवस्था सुधार्ने उद्देश्यले उनले ऋण लिएर दुबई जाने निर्णय गरेका थिए। उनका बुबा कहिलो दमाइका अनुसार वैदेशिक रोजगारीका लागि म्यानपावर, कागजात र अन्य प्रक्रियामा करिब २ लाख ५० हजार रुपैयाँ खर्च भएको थियो, जुन सबै ऋणबाट जुटाइएको रकम हो।
मृतकका परिवारमा श्रीमती, ४ वर्षीया छोरी, २ वर्षीय छोरा तथा ६ महिनाकी गर्भवती श्रीमती छन्।
भक्तबहादुर त्रिवेणी एचआर सोलुसन प्रालिमार्फत दुबईस्थित अल्टाफाडोल भवन मर्मतसम्भार कम्पनीमा दुई वर्षका लागि काम गर्न गएका थिए। सम्झौताअनुसार उनको मासिक न्यूनतम तलब एक हजार युएई दिराम तोकिएको थियो भने दैनिक आठ घण्टा र साप्ताहिक ४८ घण्टा काम गर्ने व्यवस्था थियो।
परिवारका अनुसार उनी कम्पनीमा पुगेपछि पहिलो दिन आराम गरेका थिए र असार १४ गतेदेखि काम सुरु गर्ने तयारी थियो। तर सोही दिन उनको मृत्यु भएको खबर आएको हो।
घटनापछि उनका आफन्तले असार १७ गते वैदेशिक रोजगार बोर्डमा शव स्वदेश ल्याइदिन निवेदन दिएका थिए। बोर्डको समन्वयमा शव बिहीबार नेपाल ल्याइएको हो।
भक्तबहादुरको मृत्युको वास्तविक कारणबारे सम्बन्धित निकायबाट थप अनुसन्धान भइरहेको जनाइएको छ।
