मकवानपुर — लगातारको वर्षापछि आएको बाढीका कारण मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–२ स्थित सिमखोलामा सोमबार एक स्कुटी चालक बेपत्ता भएका छन्।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार सोमबार अपराह्न करिब ३ बजेतिर कुलेखानी ड्याम नजिक रहेको सिमखोला तर्ने क्रममा स्कुटीसहित चालक बाढीले बगाएको हो। स्थानीयबाट सूचना प्राप्त हुनासाथ नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरी बलको संयुक्त टोली घटनास्थलमा पुगेर खोजी अभियान सञ्चालन गरेको छ।
मकवानपुर प्रहरीका प्रवक्ता डीएसपी माधव काफ्लेका अनुसार बेपत्ता भएका व्यक्तिको परिचय अझै खुल्न सकेको छैन। स्कुटीको नम्बर, चालक कहाँबाट कहाँ जाँदै थिए भन्ने विवरण पनि खुल्न बाँकी रहेको उनले बताए।
‘एक जनाले चलाएको स्कुटी बाढीले बगाएको भन्ने सूचना आएको छ। तर बेपत्ता भएका व्यक्ति को हुन्, स्कुटीको नम्बर के हो र कहाँ जाँदै थिए भन्ने विवरण अझै यकिन हुन सकेको छैन। खोजी कार्य जारी छ,’ डीएसपी काफ्लेले भने।
प्रहरीका अनुसार प्रारम्भिक सूचनाअनुसार बेपत्ता भएका व्यक्ति पुरुष हुन्। घटनापछि सुरक्षाकर्मीसँगै स्थानीय बासिन्दाले पनि खोलाको विभिन्न क्षेत्रमा खोजी गरिरहेका छन्। तर तीव्र बहावका कारण उद्धार तथा खोजी कार्यमा कठिनाइ भइरहेको जनाइएको छ।
लगातारको वर्षाले मकवानपुरका अधिकांश खोलानालामा पानीको बहाव उल्लेखनीय रूपमा बढेको छ। मौसमविद्हरूले अझै केही दिन भारी वर्षाको सम्भावना रहेकाले नदी तथा खोलानाला नतर्न, जोखिमयुक्त क्षेत्रमा नजान तथा उच्च सतर्कता अपनाउन आग्रह गरेका छन्।
यसैबीच, जिल्ला प्रशासन कार्यालय मकवानपुरले पनि अनावश्यक यात्रा नगर्न, बाढी तथा पहिरोको जोखिम रहेका क्षेत्रमा विशेष सावधानी अपनाउन र सुरक्षा निकायको निर्देशन पालना गर्न सर्वसाधारणलाई अनुरोध गरेको छ।
