काठमाडौं । नेकपा एमालेका प्रमुख सचेतक ऐन महरले आफूलाई सामाजिक सञ्जाल र फोनमार्फत ज्यान मार्ने धम्की आउने गरेको बताएका छन्।
मंगलबार प्रतिनिधिसभा बैठकमा बोल्दै महरले सरकारले गरेका कामको गुण र दोषका आधारमा समर्थन तथा विरोध गर्दै आएको उल्लेख गर्दै त्यसकै कारण आफू धम्कीको निशानामा परेको बताए।
उनले संसद्मा सरकारका पक्ष र विपक्षमा धारणा राख्दा केही व्यक्तिले असन्तुष्टि जनाउँदै सामाजिक सञ्जाल र फोनमार्फत गोली हानेर मार्ने धम्की दिइरहेको बताए।
‘हामी सरकारको गुण र दोषका आधारमा समर्थन र विरोध गर्छौं। सरकारलाई सही बाटो देखाउन चाहन्छौं। तर सदनमा सरकारको आलोचना गर्दा केही व्यक्तिले त्यसलाई स्वीकार्न सकिरहेका छैनन्। फेसबुक र फोनमार्फत मलाई निरन्तर गोली हानेर मार्ने धम्की आइरहेको छ,’ महरले भने।
प्रमुख सचेतक महरले संसद् बैठक चलिरहेकै समयमा समेत फेसबुकमार्फत आफूलाई गोली हानेर मार्ने धम्की आएको दाबी गरे। उनले सभामुखलाई सम्बोधन गर्दै उक्त धम्कीपूर्ण टिप्पणी पढेर सुनाउँदै, टिप्पणी गर्ने व्यक्तिले आफ्नो फोन नम्बर र ठेगानासमेत सार्वजनिक गरेको जानकारी दिए।
‘सभामुख महोदय, “ऐन महर, आम्मा कसम तलाई म गोली हानेर मार्छु” भनेर आफ्नो नम्बर र ठेगाना समेत राखेर आजै टिप्पणी गरिएको छ,’ उनले सदनमा बताए।
