काठमाडौं । मन्त्रिपरिषद्को मंगलबार बसेको बैठकले कृषि, सुरक्षा, खेलकुद, नागरिक उड्डयन र मिटरब्याज पीडितसँग सम्बन्धित पाँच महत्वपूर्ण निर्णय गरेको छ।
सरकारका प्रवक्ता तथा शिक्षामन्त्री सस्मित पोखरेलले बैठकका निर्णय सार्वजनिक गर्दै कृषि तथा पशुपन्छी विकास मन्त्रालयको प्रस्तावअनुसार ‘बिउ विजन (पहिलो संशोधन) नियमावली, २०८१’ स्वीकृत गरिएको जानकारी दिए।
बैठकले विपद्का बेला खोज तथा उद्धारमा खटिने सशस्त्र प्रहरी बलका कर्मचारीहरूको मनोबल अभिवृद्धि गर्ने उद्देश्यले उनीहरूलाई प्रोत्साहन भत्ता उपलब्ध गराउने निर्णय पनि गरेको छ।
त्यसैगरी, अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक जितेर देशको प्रतिष्ठा बढाउने खेलाडी, प्रशिक्षक, सहायक प्रशिक्षक, फिजियो र व्यवस्थापकलाई नगद पुरस्कारसहित सम्मानपत्र प्रदान गर्ने निर्णय पनि मन्त्रिपरिषद्ले गरेको छ।
यस्तै, नेपाल वायुसेवा निगमको सञ्चालक समिति अध्यक्षमा महेश्वर भक्त श्रेष्ठलाई नियुक्त गर्दै उनलाई महाप्रबन्धकको समेत जिम्मेवारी रहने गरी कार्यकारी अध्यक्षको भूमिका दिइएको प्रवक्ता पोखरेलले बताए।
मन्त्रिपरिषद्ले मिटरब्याज (अनुचित लेनदेन) पीडितहरूको समस्या समाधानका लागि यसअघि गठित विभिन्न आयोगका प्रतिवेदन तत्काल कार्यान्वयनमा लैजाने जिम्मेवारी गृह मन्त्रालयलाई दिने निर्णयसमेत गरेको छ।
