• Tuesday 6th of October 2026

सिन्धिया राजपरिवारको एक खर्ब भन्दा बढीको सम्पत्ति पशुपति र धवलशमशेरका परिवारको भागमा !


  • धनकुटा खबर
  • .

काठमाडौं । भारतको प्रतिष्ठित ग्वालियरस्थित सिन्धिया राजघरानाको करिब ४० हजार करोड भारतीय रुपैयाँ बराबरको सम्पत्ति सम्बन्धी दशकौँ पुरानो विवाद अन्ततः आपसी सहमतिमार्फत समाधानको चरणमा पुगेको छ। भारतीय सञ्चारमाध्यमका अनुसार अदालतमा पेश गरिएको सहमति पत्रअनुसार परिवारका सदस्यहरूबीच सम्पत्तिको बाँडफाँट गर्ने सहमति भएको हो।

यस सहमतिसँगै नेपालका राप्रपा नेता पशुपति शमशेर जबरा र राजावादी नेता डा. धवल शमशेर जबरासँग सम्बन्धित पारिवारिक शाखाले पनि उल्लेख्य मूल्यको सम्पत्तिमा अधिकार पाउने अनुमान गरिएको छ।

सिन्धिया राजपरिवारको सम्पत्ति विवादको सुरुआत स्वर्गीय राजमाता विजयाराजे सिन्धिया र उनका छोरा स्वर्गीय माधवराव सिन्धियाबीचको राजनीतिक तथा पारिवारिक मतभेदबाट भएको मानिन्छ। राजमाताले इच्छापत्रमार्फत माधवरावलाई सम्पत्तिबाट वञ्चित गर्न खोजेपछि सुरु भएको विवाद पछि उनका सन्तानसम्म फैलिएको थियो।

एकातर्फ वर्तमान भारतीय केन्द्रीय मन्त्री ज्योतिरादित्य सिन्धिया र अर्कोतर्फ उनका चार फुपू—वसुन्धरा राजे, यशोधरा राजे, उषा राजे तथा स्वर्गीय पद्मा राजेको परिवारबीच ग्वालियर, दिल्ली, मुम्बई र अन्य सहरमा रहेका दरबार, कोठी, कृषि भूमि तथा व्यावसायिक सम्पत्तिको स्वामित्वलाई लिएर १६ वर्षभन्दा बढी समयदेखि कानुनी लडाइँ चलिरहेको थियो।

‘जो जहाँ छ, त्यहीँको मालिक’ सूत्रमा सहमति

ग्वालियरको अतिरिक्त जिल्ला अदालतमा पेश गरिएको ३५ पृष्ठ लामो सम्झौताअनुसार सम्पत्ति बाँडफाँटको आधार ‘जो जहाँ छ, त्यहीँको मालिक’ भन्ने सिद्धान्त बनाइएको छ। हाल जुन पक्षले जुन सम्पत्ति प्रयोग गरिरहेको छ, त्यसैलाई कानुनी रूपमा सोही पक्षको नाममा नामसारी गर्ने सहमति भएको बताइएको छ।

यससँगै दिल्ली, मुम्बई, पुणे र ग्वालियरका अदालतमा विचाराधीन एक दर्जनभन्दा बढी मुद्दा अन्त्य हुने भएका छन्।

नेपालका राणा परिवारसँग पनि सम्बन्ध

सिन्धिया राजपरिवारका पाँच सन्तानमध्ये दुई छोरीको विवाह नेपालको राणा परिवारमा भएको थियो। उषा राजे सिन्धिया राप्रपा नेता पशुपति शमशेर जबराकी पत्नी हुन् भने स्वर्गीय पद्मा राजे सिन्धियाकी छोरी प्रतिमा राजावादी नेता डा. धवल शमशेर जबराकी पत्नी हुन्।

पद्मा राजेको निधन भइसकेकाले उनको हिस्साको अधिकार उनकी छोरीहरू प्रतिमा र कनिकामा रहने बताइएको छ।

अनुमानित ४० हजार करोड भारतीय रुपैयाँ बराबरको सम्पत्ति पाँच शाखामा बाँडफाँट हुँदा प्रत्येक शाखाको हिस्सामा करिब ८ हजार करोड भारतीय रुपैयाँ (करिब १ खर्ब २८ अर्ब नेपाली रुपैयाँ) बराबरको सम्पत्ति पर्न सक्ने अनुमान गरिएको छ। यद्यपि अन्तिम मूल्यांकन र सम्पत्ति हस्तान्तरणको प्रक्रिया पूरा भएपछि मात्रै वास्तविक विवरण स्पष्ट हुनेछ।

जय विलास प्यालेस ज्योतिरादित्यको भागमा पर्ने सम्भावना

सम्झौताअनुसार ग्वालियरको विश्वप्रसिद्ध जय विलास प्यालेस र त्यहाँ रहेको संग्रहालय ज्योतिरादित्य सिन्धियाको स्वामित्वमा जाने सम्भावना रहेको भारतीय सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन्। त्यस्तै, राजमाता विजयाराजेले प्रयोग गर्ने गरेको बहुमूल्य पन्नाको शिवलिङ्ग पनि ज्योतिरादित्यको जिम्मामा आउने सहमति भएको बताइएको छ।

यसैगरी दिल्ली, मुम्बई, पुणेलगायतका सहरमा रहेका कोठी, व्यावसायिक भवन, कृषि भूमि तथा ट्रस्टका सम्पत्तिसमेत सहमतिअनुसार सम्बन्धित पारिवारिक शाखाहरूबीच बाँडफाँट गरिने भएको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖