काठमाडौं । काठमाडौंको तारकेश्वर नगरपालिका–३ तीनपिप्लेबाट प्रहरीले जुवा खेलिरहेको अवस्थामा नेकपा एमाले निकट युवा संघका सचिवालय सदस्य वकिल बमसहित २४ जनालाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवन भट्टराईका अनुसार मंगलबार बिहान करिब १ बजे गरिएको छापामार कारबाहीका क्रममा उनीहरू पक्राउ परेका हुन्।
प्रहरीले घटनास्थलबाट ९ लाख ८० हजार रुपैयाँ नगद समेत बरामद गरेको जनाएको छ।
प्रारम्भिक अनुसन्धानअनुसार उक्त जुवाखाल काभ्रेको धुलिखेलका मिलन भन्ने प्रेम लामा र रोशी गाउँपालिका–१ का राम लामाले सञ्चालन गरेको खुलेको प्रहरीले जनाएको छ। उनीहरूसहित छिरिङ लामा र अन्य जुवाडेहरूलाई पनि नियन्त्रणमा लिइएको छ।
प्रहरीका अनुसार जुवाखाल सञ्चालक मिलनले काठमाडौंको ठमेलस्थित स्काई डान्सबार र राम लामाले चाहना डान्सबार सञ्चालन गर्दै आएका छन्।
यसअघि पनि वकिल बम २०८२ चैत २१ गते गुण्डागर्दीसम्बन्धी आरोपमा पक्राउ परेका थिए। उनी कालिकोटको पलाता गाउँपालिकाका स्थायी बासिन्दा हुन्।
प्रहरीले घटनाबारे थप अनुसन्धान अघि बढाएको जनाएको छ।
