• Monday 5th of October 2026

रौतहटमा पोखरीमा हाम फालेका भारतीय युवक मृत फेला


  • धनकुटा खबर
  • .

सञ्जय मिश्रा/रौतहट, ३१ असार । रौतहटको ईशनाथ नगरपालिका–४ ठूलो लचमरीस्थित मठिया माध्यमिक विद्यालयको माछा पोखरीमा हाम फालेपछि बेपत्ता भएका एक भारतीय युवकको शव फेला परेको छ।

जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डिएसपी बसन्त गौतमका अनुसार मंगलबार राति करिब ९ः३० बजे अन्दाजी ३० वर्षीय युवकले पोखरीमा हाम फालेको भन्ने सूचना प्राप्त भएको थियो। त्यसलगत्तै प्रहरी चौकी मठिया र सशस्त्र प्रहरी बलको बीओपी औरैयाबाट संयुक्त सुरक्षा टोली घटनास्थलमा पुगेर खोजी अभियान सुरु गरेको थियो।

बुधबार बिहान करिब ९ः४५ बजे खोजतलासका क्रममा युवकको शव सोही पोखरीमा फेला परेको प्रहरीले जनाएको छ।

प्रवक्ता डिएसपी गौतमका अनुसार मृतकको पहिचान भारतको बिहार राज्य, पूर्वी चम्पारण (मोतिहारी) जिल्ला, ढाका ग्राम पञ्चायत–३० निवासी लाल मोहम्मदका २३ वर्षीय छोरा मोहम्मद वजिरका रूपमा भएको हो।

शव फेला परेपछि जिल्ला प्रहरी कार्यालय रौतहटबाट प्रहरी निरीक्षक विश्वनाथ यादवको नेतृत्वमा अपराध अनुसन्धान (एसओसीओ) टोली घटनास्थल पुगेको थियो। टोलीले घटनास्थलको अनुसन्धान तथा कानुनी प्रक्रिया पूरा गरेपछि शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल गौर पठाएको प्रहरीले जनाएको छ।

घटनाको कारण खुल्न नसकेको र यस विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖