मकवानपुर । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–२ स्थित कुलेखानी ड्याम नजिकको सिमखोलामा आएको बाढीले स्कुटरसहित बगाएका चालक तीन दिनपछि मृत अवस्थामा फेला परेका छन्।
असार २९ गते दिउँसो आएको आकस्मिक बाढीले स्कुटरसहित बगाएका सर्लाहीको बागमती नगरपालिका–१ निवासी २९ वर्षीय महेश कुमार कार्की बिहीबार बिहान मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ।
नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनाको संयुक्त टोलीले लगातार खोजी अभियान सञ्चालन गरेको थियो। खोजीका क्रममा स्कुटर भेटिएको स्थानभन्दा केही तल खोलाको किनारमा करिब एक मिटर गहिरो बालुवा र लेदोमा पुरिएको अवस्थामा कार्कीको शव फेला परेको हो।
शव फेला परेपछि प्रहरीले आवश्यक कानुनी प्रक्रिया अघि बढाएको जनाएको छ।
कार्कीले चलाएको बागमती प्रदेश ०२–०३२ प ८०५४ नम्बरको स्कुटर भने घटनाको दुई दिनपछि मंगलबार घटनास्थलबाट करिब एक सय मिटर तल फेला परेको थियो।
काठमाडौँबाट सर्लाहीतर्फ जाँदै गरेका कार्की सम्पर्कविहीन भएपछि असार ३० गतेदेखि उनका आफन्तहरू पनि मकवानपुर पुगेर खोजी कार्यमा सहभागी भएका थिए।
