सप्तरी । सप्तरीमा एक किशोरको शव मोटरसाइकलमा बोकेर भाग्दै गरेका एक भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ। घटनामा संलग्न अर्का एक व्यक्ति भने फरार रहेका छन्।
जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसार बुधबार शम्भुनाथ नगरपालिका–६ कठौना बजार क्षेत्रमा एक किशोरलाई ठक्कर दिएपछि शव मोटरसाइकलमा राखेर भाग्ने प्रयास गरिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। घटनामा दुर्घटना वा अन्य कुनै आपराधिक कारण रहेको हो भन्ने विषयमा अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।
मृत्यु हुनेमा शम्भुनाथ नगरपालिका–५ मोहनपुरका १४ वर्षीय मोहम्मद सादिक रहेका छन्। उनी मोहम्मद सदामका एक्ला छोरा थिए।
घटनामा भारतको बिहार राज्य, मधुवनी जिल्लाको खतौनी पिपराही निवासी २८ वर्षीय मोहम्मद सादर नटलाई प्रहरीले पक्राउ गरेको छ।
प्रहरी चौकी बिसनपुरबाट प्रहरी सहायक निरीक्षक हरेन्द्र यादवको नेतृत्वमा खटिएको टोलीले शंकास्पद अवस्थामा रहेको बीआर–३२ बी–९७६४ नम्बरको अपाचे मोटरसाइकल पछ्याएको थियो। मोटरसाइकलमा सवार दुई जनाले दुर्घटनास्थलबाट करिब ११ किलोमिटर पश्चिम–दक्षिणतर्फ खडक नगरपालिका–१ स्थित दिनाभद्री थान नजिक शव फालेर फरार हुने प्रयास गरेका थिए।
स्थानीयवासीको सहयोगमा प्रहरीले एक जनालाई नियन्त्रणमा लिन सफल भएको भए पनि अर्का व्यक्ति भने फरार रहेका छन्। फरार व्यक्तिको खोजी तथा घटनाबारे विस्तृत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रहरी स्रोतका अनुसार पक्राउ परेका व्यक्ति बोदेबरसाईन नगरपालिका–५ स्थित सत्रुघ्न चोकमा सञ्चालनमा रहेको सोनु मिट हाउसमा काम गर्ने कर्मचारी हुन्।
घटनापछि आक्रोशित आफन्त र स्थानीयवासीले बिहीबार बिहान पूर्व–पश्चिम राजमार्गअन्तर्गत शम्भुनाथ नगरपालिका–६ कठौनामा करिब ३० मिनेट सडक अवरुद्ध गर्दै दोषीमाथि कडा कारबाहीको माग गरेका थिए।
