काठमाडौं । भारतको उत्तर प्रदेशस्थित कन्नौज जिल्लामा सरकारी योजनाअन्तर्गत सम्पन्न भएको विवाहको चार दिनमै दाइजोको माग गर्दै दुलहीलाई माइतीमा छाडिएको घटना सार्वजनिक भएको छ।
कन्नौजको सदर कोतवाली क्षेत्रअन्तर्गत पञ्चम पुर्वा गाउँकी शीतला देवीको विवाह ‘मुख्यमन्त्री सामूहिक विवाह योजना’ अन्तर्गत ठठिया थाना क्षेत्रका देवेन्द्रसँग सरकारी अधिकारीहरूको उपस्थितिमा सम्पन्न भएको थियो। आर्थिक रूपमा कमजोर परिवारकी शीतलाको विवाह दुवै परिवारको सहमतिमा सम्पन्न गरिएको थियो।
तर विवाह भएको चार दिनमै देवेन्द्रले आफू विवाहबाट सन्तुष्ट नरहेको भन्दै शीतलालाई माइतीमा ल्याएर छाडेका थिए। उनले पुनः घर लैजानुअघि एक लाख भारतीय रुपैयाँ नगद र एउटा मोटरसाइकल दाइजोका रूपमा दिनुपर्ने सर्त राखेको आरोप छ।
पीडित शीतलाले आफ्नो परिवारको कमजोर आर्थिक अवस्थाबारे जानकारी गराउँदै दाइजो माग फिर्ता लिन आग्रह गरे पनि श्रीमान् आफ्नो अडानबाट पछि नहटेपछि उनी न्यायको खोजीमा लागेकी थिइन्।
शीतलाले सुरुमा स्थानीय प्रहरीमा उजुरी दिएकी थिइन्। तर, प्रहरीबाट सुनुवाइ नभएपछि उनले अदालतको शरण लिएकी हुन्।
अदालतको आदेशपछि सदर कोतवाली प्रहरीले देवेन्द्रविरुद्ध दाइजोसम्बन्धी कसुरमा मुद्दा दर्ता गरी अनुसन्धान अघि बढाएको जनाएको छ। प्रहरीले घटनाको थप अनुसन्धान जारी रहेको बताएको छ।
