काठमाडौं । काठमाडौंको नयाँ बसपार्कस्थित एक गेस्टहाउसमा मृत अवस्थामा फेला परेकी २५ वर्षीया निशा सुनुवारको हत्या आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार पक्राउ पर्नेमा दैलेख घर भएका रमेश बुढा रहेका छन्। काठमाडौं प्रहरी परिसरका एसएसपी दिलीप घिमिरेका अनुसार प्रारम्भिक अनुसन्धानले रमेशले आफ्नै कम्मरको पेटी प्रयोग गरेर सुनुवारको घाँटी कसी हत्या गरेको देखाएको छ।
प्रहरीका अनुसार घटना असार ३२ गते भएको हो। अनुसन्धानमा रमेशले आफूबाट एक लाख रुपैयाँ चोरी भएको आशंकामा सुनुवारलाई पुनः भेट गरी गेस्टहाउसमा लगेका थिए। त्यहाँ दुईबीच विवाद भएपछि उनले सुनुवारको हत्या गरेको बयान दिएका छन्।
हत्यापछि आरोपितले शव गेस्टहाउसको पलङभित्र लुकाएर राखेको प्रहरीले जनाएको छ। घटनापछि उनी आफ्ना साथीसँग सोही कोठामा रात बिताएर भोलिपल्ट बाहिरिएको अनुसन्धानबाट खुलेको छ। गेस्टहाउसका कर्मचारीले केही दिनपछि दुर्गन्ध आएपछि प्रहरीलाई खबर गरेका थिए। त्यसपछि पलङभित्रबाट शव फेला परेको थियो।
घटनामा रमेशका साथी दानबहादुर शाहीलाई पनि अनुसन्धानका लागि नियन्त्रणमा लिएर सोधपुछ गरिएको भए पनि हालसम्मको अनुसन्धानले हत्यामा रमेश बुढाको मात्रै प्रत्यक्ष संलग्नता देखिएको प्रहरीले जनाएको छ।
प्रहरीले घटनाको थप अनुसन्धान जारी रहेको जनाएको छ।
