काठमाडौं । भक्तपुरको सूर्यविनायक नगरपालिका–७ घ्याम्पेडाँडास्थित एक होटलमा भएको सामूहिक कुटाकुटमा एक युवाको मृत्यु भएको छ।
मृत्यु हुनेमा बर्दिया घर भई हाल भक्तपुरको सल्लाघारी बस्दै आएका करिब २७ वर्षीय राज कार्की रहेका छन्। उनी साउन ४ गते बिहान आफ्ना साथीहरूसँग विश्वकप फुटबलको फाइनल खेल हेर्न घ्याम्पेडाँडास्थित ‘थ्री इडिएट्स’ होटल पुगेका थिए।
जिल्ला प्रहरी परिसर भक्तपुरका अनुसार खेल हेर्ने क्रममा होटलमा विवाद उत्पन्न भएपछि ३–४ समूहबीच कुटाकुट भएको थियो। घटनामा गम्भीर घाइते भएका कार्कीको उपचारका क्रममा मध्यपुर अस्पतालमा सोमबार मृत्यु भएको हो।
प्रहरीले घटनाको अनुसन्धानका क्रममा करिब ३० जनासँग सोधपुछ गरेको जनाएको छ। हालसम्म घटनामा संलग्न रहेको आशंकामा कसैलाई पनि पक्राउ गर्न नसकिएको प्रहरीले जनाएको छ।
मृतक कार्कीको शव पोस्टमार्टमका लागि दुवाकोटस्थित केएमसी अस्पतालमा राखिएको छ। प्रहरीका अनुसार उनको शरीरमा बाहिरी चोटपटक स्पष्ट रूपमा नदेखिएको र घटनाको वास्तविक कारण पोस्टमार्टम प्रतिवेदन तथा थप अनुसन्धानबाट खुल्ने अपेक्षा गरिएको छ।
