बारा । नेपाली कांग्रेस बाराको पार्टी कार्यालय सञ्चालनको विषयलाई लिएर दुई समूहबीच झडप भएको छ। तत्कालीन जिल्ला सभापति राजेश राय यादव र कार्यवाहक सभापति मनोज भट्ट पक्षका कार्यकर्ताबीच पार्टी कार्यालय परिसरमै विवाद चर्किएको हो।
पार्टीको केन्द्रीय अनुशासन विभागले तत्कालीन सभापति यादवलाई कारबाही गरेपछि उपसभापति मनोज भट्टलाई कार्यवाहक सभापतिको जिम्मेवारी दिइएको थियो।
साउन ६ गते मनाइने बीपी कोइराला स्मृति दिवसको पूर्वतयारीस्वरूप पार्टी कार्यालय सरसफाइ गर्न भट्ट पक्षका कार्यकर्ता पुगेपछि दुवै पक्षबीच विवाद, नाराबाजी र धकेलाधकेल सुरु भएको बताइएको छ।
कार्यवाहक सभापति मनोज भट्टले पार्टीको निर्णयअनुसार आफूले जिम्मेवारी पाएको र कार्यालयको कागजात तथा भवन बुझ्न जाँदा अर्को पक्षले अस्वीकार गरेको बताएका छन्। उनका अनुसार विशेष महाधिवेशनबाहेक अरू कुनै निर्णय स्वीकार नगर्ने भन्दै कार्यालय हस्तान्तरण गर्न नमानिएको हो।
यता, निवर्तमान सभापति राजेश राय यादवले भने आफू छलफलमा रहेको भन्दै तत्काल प्रतिक्रिया दिन चाहेनन्।
विवाद चर्किएपछि दुवै समूहबीच ढुङ्गामुढासमेत भएको थियो। घटनामा केही कार्यकर्ता सामान्य घाइते भएका छन्।
प्रत्यक्षदर्शीका अनुसार स्थिति तनावपूर्ण बने पनि स्थानीय प्रशासन प्रभावकारी रूपमा सक्रिय नभएको आरोप लगाइएको छ। हाल विवाद समाधानका लागि पार्टी कार्यालयमै दुवै पक्षबीच छलफल भइरहेको जनाइएको छ।
