• Monday 5th of October 2026

बस दुर्घटना, चालक सहित १५ जना घाइते


  • धनकुटा खबर
  • .

तनहुँ । तनहुँको व्यास नगरपालिका–७ कलेस्ती पुलस्थित दमौली–भोर्लेटार भित्री सडकखण्डमा बस दुर्घटना हुँदा चालक गम्भीरसहित १५ जना घाइते भएका छन्।

मंगलबार दिउँसो करिब ३:१५ बजे कलेस्तीबाट दमौलीतर्फ जाँदै गरेको ग १ ख ६४६५ नम्बरको बस चालकले नियन्त्रण गुमाउँदा कलेस्ती खोलाको पुलमा ठोक्किएर दुर्घटना भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा चालक व्यास नगरपालिका–२ निवासी २६ वर्षीय शम्शेर परियार चालक सिटमै च्यापिएर गम्भीर घाइते भएका थिए। जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक द्वारिका प्रसाद घिमिरेको नेतृत्वमा खटिएको प्रहरी टोलीले चालकको उद्धार गरी उपचारका लागि प्रदेश अस्पताल दमौली पठाएको छ।

प्रहरीका अनुसार बसमा करिब २५ जना सवार थिए। दुर्घटनामा चालकसहित १५ जना घाइते भएका छन्। घाइतेमध्ये अधिकांशको अवस्था सामान्य रहेको छ।

घाइतेहरू रत्नहरी अस्पताल तनहुँमा उपचाररत छन्। उनीहरूमध्ये श्रीमाया परियार, शान्ता गौतम, निरा गौतम, सुस्मिता शाही, चन्द्रमाया गुरुङ, अनिता गुरुङ, बिन्दु गुरुङ, स्वस्तिकला खनाल, सुजिता पौडेल, ८ वर्षीया सान्भि गिरी, दिपा खान, सीता नेपाली, हिरा मल्ल र नुनिमाया थापाको शरीरका विभिन्न भागमा सामान्य चोट लागेको प्रहरीले जनाएको छ।

दुर्घटनापछि सडक सञ्चालनमा रहेको प्रहरीले जनाएको छ। दुर्घटनाग्रस्त बस हटाउने काम जारी रहेको छ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖