• Monday 5th of October 2026

कीर्तिपुर कार आगलागी प्रकरण: अनुसन्धानमा आत्मदाह भएको निष्कर्ष


  • धनकुटा खबर
  • .

काठमाडौं । काठमाडौंको कीर्तिपुरमा कारभित्र जलेर मृत्यु भएका ७० वर्षीय सुरेशचन्द्र श्रेष्ठले आत्मदाह गरेको प्रहरीले प्रारम्भिक अनुसन्धानबाट निष्कर्ष निकालेको छ।

काठमाडौं महानगरपालिका–२६ नरदेवी घर भएका श्रेष्ठ परिवारसँग कीर्तिपुरस्थित ग्रिनउड भिल्लामा बस्दै आएका थिए। मंगलबार बिहान करिब ११:२० बजे उनी आफैंले चलाउँदै बा.५ च ३०३८ नम्बरको कार लिएर ट्याङ्लाफाँटस्थित चाँदनी चोक पुगेका थिए।

प्रहरीका अनुसार सडकबाट केही पर खाली जग्गामा कार रोकेपछि गाडीभित्रैबाट आगो सल्किएको प्रत्यक्षदर्शीले देखेका थिए। घटनास्थल नजिक रहेका एक युवकले आगो देखेपछि कारको अगाडिको ढोका खोल्ने प्रयास गरेका थिए। चालकतर्फको ढोका खोल्ने क्रममा उनको हातसमेत पोलेपछि उनी पछि हटेको दृश्य सीसीटीभी फुटेजमा देखिएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी परिसर काठमाडौं र प्रहरी वृत्त कीर्तिपुरको अनुसन्धानअनुसार घटनामा अन्य व्यक्तिको संलग्नता नदेखिएको र श्रेष्ठले आफैं आगो लगाएर आत्मदाह गरेको निष्कर्षमा प्रहरी पुगेको छ।

काठमाडौं प्रहरी परिसरका एसएसपी दिलीप घिमिरेले हालसम्मको अनुसन्धानमा घटनामा अरू कसैको संलग्नता नदेखिएको बताएका छन्।

घटनापछि प्रहरी र स्थानीयले आगो नियन्त्रणमा लिएर कारभित्र खोजी गर्दा चालक सिटमै श्रेष्ठ मृत अवस्थामा फेला परेका थिए।

प्रहरीका अनुसार श्रेष्ठ औषधि व्यवसायी थिए। कोरोना महामारीपछि व्यवसायमा घाटा बेहोरेर उनी आर्थिक समस्यामा परेका थिए। पारिवारिक स्रोतका अनुसार पछिल्लो समय आर्थिक तनाव बढ्दै गएको थियो। जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवन भट्टराईले आर्थिक तनावका कारण उनले कारभित्रै आगो लगाएर आत्मदाह गरेको हुन सक्ने प्रारम्भिक अनुसन्धानबाट खुलेको बताएका छन्।

मृतक श्रेष्ठको शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पतालमा राखिएको छ। उनले चलाएको कार २०६२ साल कात्तिक २७ गते नबिल बैंकबाट ऋण लिएर खरिद गरिएको र यातायात व्यवस्था विभागको अभिलेखमा उक्त कार सुरेशचन्द्र श्रेष्ठ र रजनी श्रेष्ठको नाममा दर्ता रहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖