काठमाडौं । काठमाडौंको कीर्तिपुरस्थित ट्याङ्लाफाँटमा कारभित्र जलेर मृत्यु भएका ७० वर्षीय सुरेशचन्द्र श्रेष्ठले आत्मदाह गरेको निष्कर्षमा प्रहरी पुगेको छ।
मंगलबार बिहान ट्याङ्लाफाँटस्थित सुम्लाङकोट नजिक खाली स्थानमा पार्किङ गरिएको कारभित्र आगलागी भएपछि चालक सिटमा श्रेष्ठ मृत अवस्थामा फेला परेका थिए।
जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी पवनकुमार भट्टराईका अनुसार प्रारम्भिक अनुसन्धानमा श्रेष्ठले आफैं कारभित्र पेट्रोल छर्केर आगो लगाएको खुलेको छ। आगो लाग्दासमेत उनले कम्मरमा बाँधेको सिटबेल्ट नखोलेको प्रहरीले जनाएको छ।
सीसीटीभी फुटेजअनुसार एक प्रत्यक्षदर्शीले कारको ढोका खोल्ने प्रयास गरेका थिए। तर आगोको लप्काले उनको हात पोलेपछि उनी पछि हटेका थिए। ढोका खुलिसक्दा पनि श्रेष्ठ भने चालक सिटबाट बाहिर ननिस्किएको प्रहरीको अनुसन्धानबाट खुलेको छ।
प्रहरीले आगो नियन्त्रणमा लिएपछि चालक सिटमै श्रेष्ठको शव फेला पारेको थियो।
प्रहरीका अनुसार नरदेवीका स्थायी बासिन्दा श्रेष्ठ हाल कीर्तिपुरको ग्रिनउड भिल्लामा बस्दै आएका थिए। उनी मेडिकल व्यवसायमा संलग्न थिए। कोभिड–१९ महामारीका बेला विदेशबाट स्वास्थ्य सामग्री आयात गरे पनि बजारबाट रकम उठ्न नसक्दा ठूलो आर्थिक संकटमा परेका थिए।
पारिवारिक स्रोतका अनुसार ऋणको भार र ब्याजसमेत तिर्न नसक्ने अवस्थामा पुगेपछि उनी मानसिक तनावमा थिए र पछिल्लो समय अस्वाभाविक व्यवहारसमेत देखाउने गरेका थिए।
अनुसन्धानका क्रममा आगलागी भएको कार २०६२ सालमा खरिद गरिएको खुलेको छ। यातायात व्यवस्था कार्यालयको अभिलेखअनुसार उक्त कार सुरेशचन्द्र श्रेष्ठ र रजनी श्रेष्ठको नाममा दर्ता रहेको प्रहरीले जनाएको छ।
