सिरहा — सिरहाको लहान नगरपालिका–३ स्थित हस्पिटल चोकमा लागूऔषध कारोबारीलाई पक्राउ गर्ने क्रममा प्रहरीले गोली चलाउँदा दुई जना घाइते भएका छन्।
बिहीबार काठमाडौँको कोटेश्वरस्थित लागूऔषध नियन्त्रण ब्यूरोबाट खटिएको विशेष प्रहरी टोलीले लागूऔषध कारोबारमा संलग्न रहेको आशंकामा छ जनालाई नियन्त्रणमा लिने क्रममा उनीहरूले प्रतिरोध गरेपछि गोली चलाइएको प्रहरीले जनाएको छ।
गोली लागेर एक नेपाली र एक भारतीय नागरिक घाइते भएका छन्। उनीहरूलाई उपचारका लागि स्थानीय अस्पतालमा भर्ना गरिएको छ। पक्राउ परेका अन्य व्यक्तिमाथि पनि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
लागूऔषध नियन्त्रण ब्यूरोका एक अधिकारीका अनुसार घटनामा संलग्न व्यक्तिहरूको पहिचान खुलाउने, बरामद सामग्रीको विवरण संकलन गर्ने तथा घटनाबारे विस्तृत अनुसन्धान गर्ने काम जारी छ।
घटनाको विस्तृत विवरण सार्वजनिक हुन बाँकी रहेको प्रहरीले जनाएको छ।
