• Tuesday 6th of October 2026

रास्वपाको नयाँ निर्देशन : सांसदले आफन्तलाई स्वकीय सचिव नियुक्त गर्न नपाउने


  • धनकुटा खबर
  • .

काठमाडौं — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्ना संघीय सांसदका लागि स्वकीय सचिव नियुक्ति र व्यवस्थापनसम्बन्धी आन्तरिक निर्देशन जारी गर्दै एकाघरका सदस्य वा नजिकका नातेदारलाई स्वकीय सचिव नियुक्त गर्न रोक लगाएको छ।

पार्टीका महामन्त्री विपिनकुमार आचार्यले जारी गरेको निर्देशनमा नातावाद र परिवारवादलाई निरुत्साहित गर्दै स्वकीय सचिवको नियुक्ति पारिवारिक घेराभन्दा बाहिरबाट मात्रै गर्नुपर्ने व्यवस्था गरिएको छ।

हालै मन्त्रिपरिषद्ले संघीय संसद्का सदस्यलाई राजपत्राङ्कित तृतीय श्रेणी (शाखा अधिकृत सरह) का एक जना स्वकीय सचिव राख्न पाउने व्यवस्था गरेपछि राज्यकोषको दुरुपयोग रोक्न, पारदर्शिता कायम गर्न र सुशासन प्रवर्द्धन गर्न रास्वपाले यो नीति लागू गरेको जनाएको छ।

निर्देशनअनुसार स्वकीय सचिव छनोटका लागि सांसदहरूले सार्वजनिक आह्वान वा खुला प्रतिस्पर्धात्मक प्रक्रिया अपनाउनुपर्नेछ। संसदीय दलले तयार गर्ने साझा विज्ञापन ढाँचाका आधारमा मात्रै आवेदन माग गर्नुपर्ने व्यवस्था गरिएको छ।

स्वकीय सचिवका लागि संघीय संसद् सचिवालयले तोकेको न्यूनतम शैक्षिक योग्यता अर्थात् स्नातक तह उत्तीर्ण हुनुपर्नेछ। साथै, विषयगत विज्ञता, प्रविधिमैत्री क्षमता र अनुसन्धान कौशल भएका उम्मेदवारलाई प्राथमिकता दिइने उल्लेख गरिएको छ। नियुक्तिमा महिला, सीमान्तकृत तथा पिछडिएका समुदायका योग्य व्यक्तिलाई प्रोत्साहन गर्ने नीति पनि समावेश गरिएको छ।

रास्वपाले स्वकीय सचिवको पारिश्रमिकबाट कुनै पनि प्रकारको रकम कट्टा, असुल वा हिनामिना गर्न पूर्ण रूपमा निषेध गरेको छ। पारिश्रमिक सिधै स्वकीय सचिवको बैंक खातामा जम्मा हुने व्यवस्था सुनिश्चित गर्नुपर्ने र आर्थिक अनियमितता भेटिएमा त्यसलाई गम्भीर अनुशासनहीनता मानिने चेतावनी दिइएको छ।

त्यस्तै, सांसदले छनोट गरेका उम्मेदवारलाई नियुक्त गर्नुअघि रास्वपा संसदीय दलबाट अन्तिम स्वीकृति लिनुपर्नेछ। नियुक्त स्वकीय सचिवको बायोडाटा तथा शैक्षिक योग्यतासम्बन्धी प्रमाणपत्रको प्रतिलिपि पार्टीको केन्द्रीय कार्यालयमा समेत दर्ता गराउनुपर्ने व्यवस्था गरिएको छ।

निर्देशनमा कागजमा मात्र स्वकीय सचिव देखाएर सुविधा लिने, नातेदार नियुक्त गर्ने वा अन्य कुनै अनियमितता गरेको पाइएमा पार्टीको केन्द्रीय अनुशासन समितिले तत्काल कारबाही गर्ने स्पष्ट उल्लेख गरिएको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖