• Monday 5th of October 2026

शौचालयमा महिलाको गोप्य भिडियो खिच्ने चिकित्सकलाई ६ महिना जेल


  • धनकुटा खबर
  • .

 न्युयोर्क, ८ साउन । अमेरिकाको ओहायो राज्यको एक अदालतले अस्पतालको शौचालयमा महिलाहरूको गोप्य रूपमा भिडियो खिचेको अभियोगमा भारतीय मूलका चिकित्सकलाई सजायँ सुनाएको छ ।

 

भारतीय मुलका चिकित्सक अद्वैत देशमुखलाई ६ महिनाको जेल सजाय, ३ वर्षको निरीक्षण अवधि र १५ वर्षसम्मका लागि ‘यौन अपराधी’का रूपमा दर्ता हुनु पर्ने सजाय सुनाएको हो।

 

चिकित्सक देशमुख प्रोमेडिका टोलेडो हस्पिटलमा कार्यरत थिए र युनिभर्सिटी अफ टोलेडोको युरोलोजी विभागमा मेडिकल रेसिडेन्टको रूपमा प्रशिक्षण लिइ रहेका थिए। अदालतले उनलाई मानसिक स्वास्थ्य उपचार जारी राख्न तथा ‘सेक्साहोलिक्स एनोनिमस’ नामक सहयोग समूहका बैठकहरूमा सहभागी हुन पनि निर्देशन दिएको छ।

 

यो घटना सन् २०२५ को जुन महिनामा प्रकाशमा आएको थियो, जब अस्पतालको साझा शौचालय (युनिसेक्स रेस्टरुम) मा राखिएको एउटा बाकस भित्र लुकाएर राखिएको अवस्थामा मोबाइल फोन फेला पर्यो। अस्पतालका एक कर्मचारीले उक्त फोन निकाल्ने प्रयास गर्दा अद्वैत देशमुख त्यहाँ आइपुगे, फोन खोसेर लगे र त्यो आफ्नो व्यक्तिगत उपकरण भएको दाबी गरे।

 

यस्तो शंकास्पद व्यवहारपछि अस्पताल प्रशासनले प्रहरीलाई जानकारी दियो र त्यसपछि उक्त मोबाइल फोनको फरेन्सिक जाँच गरियो।

अनुसन्धानका क्रममा मोबाइल फोनबाट सन् २०२५ को फेब्रुअरी देखि मे महिनाको बीचमा खिचिएका ८२ वटा तस्बिर र भिडियोहरू फेला परे। अनुसन्धान निकायहरूका अनुसार यसमा महिलाहरूको जानकारी वा सहमतिबिना खिचिएका गोप्य भिडियो तथा तस्बिरहरू समावेश थिए। यी प्रमाणहरू फेला परे पछि प्रहरीले ‘भोयरिजम’ अर्थात अरूको गोप्य क्रियाकलाप वा नग्नता लुकेर हेर्ने कार्य तथा अन्य कसुरहरूमा ती चिकित्सकविरुद्ध मुद्दा दर्ता गर्‍यो।

 

सुनुवाइका क्रममा अद्वैत देशमुखले ‘भोयरिजम’ अर्थात लुकेर वा गोप्य रूपमा अरूको निजी क्षण हेर्ने कार्य सम्बन्धी ७ वटा अभियोग तथा प्रमाण नष्ट गर्ने प्रयास गरेको कसुर स्वीकार गरेका थिए । उक्त घटनापछि युनिभर्सिटी अफ टोलेडोले अद्वैत देशमुखलाई तत्कालै प्रशासनिक बिदामा पठाएको थियो। 

आन्तरिक अनुसन्धान पूरा भएपछि उनको मेडिकल रेजिडेन्सी खारेज गरियो। त्यसपछिअस्पताल प्रशासनले बिरामी तथा कर्मचारीको सुरक्षा र गोपनीयतालाई उच्च प्राथमिकतामा राखिएको र संस्थाभित्र यस्तो व्यवहारका लागि कुनै ठाउँ नभएको जनाएको छ।
 

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖