• Monday 5th of October 2026

बलात्कार आरोपमा आफैँले हिरासतमा पुर्‍याएको युवकसँग बिहे गर्न युवतीको जिद्दी


  • धनकुटा खबर
  • .

नयाँ दिल्ली । भारतको उत्तर प्रदेशस्थित गोरखपुर जिल्लामा बलात्कारको आरोपमा पक्राउ परेका युवकसँगै विवाह गर्न एक युवतीले प्रहरीसमक्ष आग्रह गर्दै विष सेवन गरेको घटना सार्वजनिक भएको छ।

भारतीय सञ्चारमाध्यमका अनुसार गोरखपुरको चौधरी चौरा थाना क्षेत्रकी एक युवतीले विवाह गर्ने आश्वासन दिएर आफूलाई बलात्कार गरेको आरोप लगाउँदै युवकविरुद्ध प्रहरीमा उजुरी दिएकी थिइन्। सोही उजुरीका आधारमा प्रहरीले आरोपित युवकलाई पक्राउ गरी हिरासतमा राखेको थियो।

तर, शनिबार बिहान ती युवती प्रहरी कार्यालय पुगेर हिरासतमा रहेका युवकलाई रिहा गर्न र आफू उनीसँग विवाह गर्न तयार रहेको बताएकी थिइन्। प्रहरीले कानुनी प्रक्रियाअनुसार हिरासतमा रहेका व्यक्तिलाई तत्काल बाहिर ल्याउन नमिल्ने जानकारी गराए पनि युवती आफ्नो अडानमा कायम रहेकी थिइन्।

चौधरी चौरा थाना प्रमुख कुन्दन कुमार सिंहका अनुसार त्यसपछि युवतीले आफूसँग रहेको फिनाइलको बोतल निकालेर केही घुट्का पिएकी थिइन्। तत्काल प्रहरी र स्थानीयको सहयोगमा उनलाई नजिकैको अस्पताल पुर्‍याइएको थियो।

अस्पतालमा प्रारम्भिक उपचारपछि स्वास्थ्य अवस्था गम्भीर देखिएकाले उनलाई जिल्ला अस्पतालमा रेफर गरिएको प्रहरीले जनाएको छ। घटनाबारे युवतीका परिवारलाई समेत जानकारी गराइएको छ भने हाल उनको अवस्था स्थिर रहेको भारतीय प्रहरीले जनाएको छ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖