काठमाडौं । काठमाडौंको तारकेश्वर नगरपालिका–१ मा कारभित्र जलेको अवस्थामा मृत फेला परेकी ४५ वर्षीया रश्मी रिजालले आत्मदाह गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट निष्कर्ष निकालिएको छ। प्रहरीका अनुसार घटनास्थलको सीसीटीभी फुटेज, गाडीभित्र भेटिएका प्रमाण र प्राविधिक विश्लेषणले उनी आफैंले आगो लगाएको देखाएको हो।
नुवाकोटको बेलकोटगढी नगरपालिका स्थायी घर भई काठमाडौंको मनमैजुमा बस्दै आएकी रिजाल साउन ८ गते बिहान घरबाट निस्किएकी थिइन्। घर नफर्केपछि परिवारले प्रहरीमा हराएको निवेदन दिएका थिए।
खोजीका क्रममा तारकेश्वरस्थित कालेबासे–चुनीदेवी बालुवा प्रशोधन केन्द्र नजिक शंकास्पद रूपमा पार्क गरिएको बिएई–०४१० नम्बरको विद्युतीय कारभित्र उनी मृत अवस्थामा फेला परेकी थिइन्। उनी पछाडिको सिटमा थिइन् भने गाडीको चाबी चालक सिटमै भेटिएको थियो।
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार रिजाल घरबाट सिधै घटनास्थल पुगेकी थिइन्। अनुसन्धानमा उनले साथमा पेट्रोल लगेको, गाडीको एयर कन्डिसन चलाएर बाहिर शरीरमा पेट्रोल छर्किएपछि कारभित्र प्रवेश गरी आगो लगाएको देखिएको छ। गाडीभित्र तीन वटा लाइटर पनि बरामद गरिएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार घटनाका बेला गाडीको ढोका भित्रबाट लक गरिएको थियो। सीसीटीभी फुटेजमा घटनास्थलमा अन्य कुनै व्यक्तिको संलग्नता नदेखिएको र बाहिरी भाग सुरक्षित रहँदा गाडीको भित्री भाग मात्र जलेको पाइएको छ। पोस्टमार्टमपछि शव परिवारलाई जिम्मा लगाइएको छ।
रिजाल नक्सालस्थित सानिमा क्यापिटल लिमिटेडमा मर्चेन्ट हेडका रूपमा कार्यरत थिइन्। प्रहरीका अनुसार उनी केही समयदेखि मानसिक तनावमा रहेकी थिइन्। घटनाको थप अनुसन्धान जारी रहेको छ।
