मोरङ । मोरङमा एक बालिकामाथि जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ।
प्रहरीका अनुसार साउन ३ गते बिहान सुनबर्षी नगरपालिकाकी एक बालिकालाई सिटी चालक १८ वर्षीय मोहम्मद अरमानले प्रलोभनमा पारी रंगेली नगरपालिका–३ स्थित युमी क्याफेमा लगेका थिए। त्यहाँ अरमानले बालिकामाथि जबरजस्ती करणी गरेको आरोप छ। त्यसपछि सोही क्याफेका सञ्चालक २१ वर्षीय सुमन कुमार साहले पनि बालिकामाथि जबरजस्ती करणी गरेको प्रहरीले जनाएको छ।
यस्तै, साउन ४ गते राति करिब ९ बजे पीडित बालिकालाई रंगेली नगरपालिका–७ का २० वर्षीय करण मण्डलले रंगेली–७ स्थित संसारी मन्दिर नजिक रहेको ‘द नाइन्टीज’ क्याफेमा लगेका थिए। त्यहाँ मण्डलसहित १८ वर्षीय प्रियान्सु साह र १८ वर्षीय रितिक यादवले सामूहिक रूपमा जबरजस्ती करणी गरेको भन्दै उजुरी दर्ता भएको प्रहरीले जनाएको छ।
घटनाबारे उजुरी प्राप्त भएपछि साउन १० गते जिल्ला प्रहरी कार्यालय मोरङ र इलाका प्रहरी कार्यालय रंगेलीबाट खटिएको संयुक्त प्रहरी टोलीले घटनामा संलग्न पाँचै जनालाई पक्राउ गरेको हो।
पक्राउ पर्नेहरूमा रंगेली–३ आमतोला निवासी १८ वर्षीय मोहम्मद अरमान, सुनबर्षी–९ निवासी २१ वर्षीय सुमन कुमार साह, रंगेली–७ हर्दीटोल निवासी २० वर्षीय करण मण्डल, रंगेली–७ निवासी १८ वर्षीय प्रियान्सु साह तथा रंगेली–६ निवासी १८ वर्षीय रितिक यादव रहेका छन्।
प्रहरीले पक्राउ परेका पाँचै जनाविरुद्ध जबरजस्ती करणी सम्बन्धी कसुरमा अनुसन्धान अघि बढाइएको जनाएको छ।
