काठमाडौँ । मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले विभिन्न कानुनी, प्रशासनिक, सहकारी तथा प्राविधिक शिक्षासम्बन्धी महत्वपूर्ण निर्णय गरेको छ। बैठकले नौ वटा विधेयक सङ्घीय संसद्मा पेस गर्न स्वीकृति दिएको छ।
सरकारले संवैधानिक निकायका पदाधिकारीहरूको पारिश्रमिक तथा सुविधा, खानी तथा खनिज पदार्थ, सङ्क्रामक पशु रोग नियन्त्रण, राहदानी ऐन, मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण, बालश्रम, आन्तरिक वायुसेवाको दायित्व, मेलमिलापसम्बन्धी ऐन तथा कर्मचारी सञ्चयकोष ऐन संशोधनसम्बन्धी विधेयक संसद्मा दर्ता गर्न स्वीकृति दिएको हो।
बैठकले सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागका महानिर्देशक वा निजले तोकेको अधिकृतलाई विदेशी विनिमयसम्बन्धी कसुरको अनुसन्धान अधिकारी तोक्ने निर्णय पनि गरेको छ।
यस्तै, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको प्रस्तावमा समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको सदस्यमा सिन्धुलीका खेटराज दाहाललाई मनोनयन गर्ने निर्णय गरिएको छ।
त्यसैगरी, मन्त्रिपरिषद्ले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (छैटौँ संशोधन) नियमावली, २०८३ लाई स्वीकृति प्रदान गरेको छ।
संसद्मा पेस गर्न स्वीकृति पाएका विधेयक
संवैधानिक निकायका पदाधिकारीहरूको पारिश्रमिक, सेवाका सर्त र सुविधासम्बन्धी ऐन, २०५३ संशोधन विधेयक
खानी तथा खनिज पदार्थसम्बन्धी कानुन संशोधन तथा एकीकरण विधेयक
सङ्क्रामक पशु रोग नियन्त्रणसम्बन्धी विधेयक
राहदानी ऐन, २०७६ संशोधन विधेयक
मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) पहिलो संशोधन विधेयक
बालश्रम (निषेध तथा नियमित गर्ने) सम्बन्धी विधेयक
आन्तरिक वायुसेवाको दायित्वसम्बन्धी विधेयक
मेलमिलाप सम्बन्धी ऐन, २०६८ संशोधन विधेयक
कर्मचारी सञ्चयकोष ऐन, २०१९ संशोधन विधेयक
सरकारले यी निर्णयमार्फत कानुनी सुधार, सहकारी क्षेत्रको व्यवस्थापन, अनुसन्धान प्रणाली सुदृढीकरण तथा प्राविधिक शिक्षाको नीतिगत व्यवस्थालाई अघि बढाउने जनाएको छ।
