• Monday 5th of October 2026

सांसद गणेश पौडेलमाथि दुर्व्यवहार गर्ने दुई जना पक्राउ


  • धनकुटा खबर
  • .

रौतहट । रौतहट क्षेत्र नं. ४ का प्रतिनिधिसभा सदस्य गणेश पौडेलमाथि दुर्व्यवहार गरिएको घटनामा संलग्न रहेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार साउन ७ गते साँझ गढीमाई नगरपालिका–७ पर्सा गाउँस्थित मठ मन्दिर नजिक सांसद पौडेल जनतासँग गुनासो सुनुवाइ गरिरहेका बेला केही व्यक्तिले ‘मधेश मुक्ति अभियान जिन्दाबाद’ लगायतका नारा लेखिएका पर्चा छर्दै उनीमाथि पछाडिबाट कालो मसी छ्यापेर फरार भएका थिए।

घटनापछि जिल्ला प्रहरी कार्यालय रौतहट र इलाका प्रहरी कार्यालय गरुडाबाट खटिएको संयुक्त प्रहरी टोलीले अनुसन्धानका क्रममा घटनामा संलग्न रहेको आरोपमा दुई जनालाई बुधबार पक्राउ गरेको हो।

पक्राउ पर्नेमा गढीमाई नगरपालिका–५ का स्थायी बासिन्दा भई हाल वडा नं. ७ धनहारी गाउँ बस्ने २० वर्षीय शेख इवरान तथा गढीमाई नगरपालिका–३ गम्हरिया गाउँका १९ वर्षीय इर्फान अन्सारी रहेका छन्।

जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) बसन्त गौतमका अनुसार उनीहरूमाथि ‘अपमानजनक तथा अमानवीय व्यवहार गर्न नहुने’ कसुरअन्तर्गत अनुसन्धान अघि बढाइएको छ।

प्रहरीले रौतहट जिल्ला अदालतबाट तीन दिनको म्याद थप अनुमति लिएर थप अनुसन्धान जारी राखेको जनाएको छ। साथै घटनामा संलग्न भई फरार रहेका अन्य व्यक्तिहरूको खोजी कार्य पनि तीव्र रूपमा भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖