• Monday 5th of October 2026

इरानले कुवेतमा गरेको आक्रमणमा परि एक नेपालीको मृत्यु


  • धनकुटा खबर
  • .

काठमाडौं — इरानले कुवेतमा गरेको आक्रमणमा परी एक नेपाली नागरिकको मृत्यु भएको पुष्टि भएको छ। परराष्ट्र मन्त्रालयले बिहीबार विज्ञप्ति जारी गर्दै घटनामा एक नेपालीको ज्यान गएको जनाएको हो।

मन्त्रालयका अनुसार मृतक नेपालीको पहिचान तथा अन्य विस्तृत विवरण अझै प्राप्त हुन बाँकी छ। घटनाबारे थप जानकारी संकलन गर्न र मृतकको पहिचान यथाशीघ्र उपलब्ध गराउन कुवेतस्थित नेपाली राजदूतावासलाई निर्देशन दिइसकिएको मन्त्रालयले जनाएको छ।

कुवेतको रक्षा मन्त्रालयका अनुसार बिहीबार बिहान उत्तरी कुवेतस्थित एक चिनियाँ कम्पनीको भवनलाई लक्षित गरी इरानले आक्रमण गरेको थियो। आक्रमणबाट भवनमा ठूलो भौतिक क्षति पुगेको जनाइएको छ।

घटनापछि कुवेतमा रहेका नेपाली नागरिकहरूको सुरक्षाप्रति चासो बढेको छ। परराष्ट्र मन्त्रालयले प्रभावित क्षेत्रमा रहेका नेपालीहरूको अवस्थाबारे निरन्तर जानकारी संकलन गरिरहेको र आवश्यक समन्वय भइरहेको जनाएको छ।

यस घटनाले मध्यपूर्वमा बढ्दो सुरक्षा चुनौतीबीच विदेशमा कार्यरत नेपाली नागरिकहरूको सुरक्षाप्रति थप चिन्ता बढाएको छ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖