काठमाडौँ। सिरहाको गोलबजार स्थित इलाका प्रहरी कार्यालयमा कार्यरत इन्स्पेक्टरको सरुवा गरिएको छ । गोलबजारमा कार्यरत सुदन केसीलाई त्यहाँबाट हटाइएको छ ।
प्रहरी प्रधान कार्यालय स्रोतका अनुसार गोलबजारमा इन्स्पेक्टर दिपक खरेललाई पठाइएको छ । प्रदर्शनकारीको मृत्यु भएपछि उनलाई त्यहाँबाट हटाइएकाे हाे ।
बिहीबार गोलबजारमा झडप हुँदा गोली लागेर १८ वर्षीय गणेश यादवको मृत्यु भएको थियो । उनी औरही गाउँपालिका–२ का स्थानीय हुन् । स्थिति अशान्त बनेसँगै सिरहा, धनुषा र पर्सामा कर्फ्यु आदेश जारी गरिएको छ ।
शुक्रबार प्रदर्शन भएको महोत्तरी स्थित इलाका प्रहरी कार्यालय गौशाका इन्स्पेक्टर पनि सरुवा भएका छन् । गौशालामा मधुसुदन विश्वकर्मालाई पठाइएको छ । प्रहरी प्रधान कार्यालयले थप ३ जना इन्स्पेक्टरको काज सरुवा गरेको छ । कास्की स्थित वडा प्रहरी कार्यालय रामबजारमा सरिता मगर, ललितपुर स्थित प्रहरी प्रभाग बाँडेगाउँमा यशोदा घले र सर्लाहीको इलाका प्रहरी कार्यालय हिरवनमा सुरेन्द्र विक्रम बर्तौलालाई पठाएको छ ।
प्रहरी प्रधान कार्यालयले ३ जना डीएसपीहरुको पनि सरुवा गरेको छ । कास्की स्थित वडा प्रहरी कार्यालय बैदाममा डीएसपी सुर्यबहादुर बोगटी र जिल्ला प्रहरी कार्यालय भोजपुरमा ज्ञान बहादुर खड्कालाई पठाइएको छ । प्रहरी वृत्त बौद्धमा मदनजित महरालाई सरुवा गरिएको छ । महरा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा कार्यरत थिए।
