चितवन । चितवनको भरतपुर महानगरपालिका–१० स्थित एक खाजा घरबाट जुवा खेलिरहेको अवस्थामा ११ जनालाई प्रहरीले पक्राउ गरेको छ।
शनिबार साँझ अष्टभुजा पेट्रोल पम्प पछाडि रहेको तनहुँका कमलबहादुर न्यौपानेले सञ्चालन गरेको ‘विकल्प खाजा घर’मा जुवा खेलिरहेको भन्ने सूचनाका आधारमा पुगेको प्रहरी टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार जुवा खालबाट ७१ हजार ५१५ रुपैयाँ नगद बरामद गरिएको छ।
पक्राउ पर्नेमा भरतपुर–१० का मनोज पौडेल, खाजा घर सञ्चालक कमलबहादुर न्यौपाने, भरतपुर–७ का ध्रुव कोइराला, भरतपुर–९ का रबिन काफ्ले, सुरेश खनाल, चिरन तिवारी, मनोज सुवेदी, वीरेन्द्र गिरी, नवीन जोशी, अमित कोइराला र ५० वर्षीय मोती शर्मा रहेका छन्।
प्रहरीका अनुसार पक्राउ परेका मनोज पौडेल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) चितवन जिल्ला कमिटीका सदस्य हुन्।
घटनामा संलग्न सबैमाथि जिल्ला प्रहरी कार्यालय चितवनले जुवा सम्बन्धी कसुरमा थप अनुसन्धान गरिरहेको जनाएको छ।
