बाँके, साउन १८ । बाँकेमा दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई युवक पक्राउ परेका छन्। घटनापछि फरार रहेका एक युवकलाई आइतबार पक्राउ गरेसँगै दुवै आरोपित प्रहरी नियन्त्रणमा आएका हुन्।
पक्राउ पर्नेमा खजुरा गाउँपालिका–२ निवासी २८ वर्षीय मोहन सत्याल र सोही ठाउँका २० वर्षीय प्रदीप सुनार रहेका छन्। प्रदीपलाई घटनाको भोलिपल्ट साउन १२ गते नै पक्राउ गरिएको थियो भने फरार रहेका मोहनलाई साउन १७ गते खजुरा गाउँपालिका–५ स्थित नेपालगञ्ज–गुलरिया हुलाकी सडकखण्डबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार साउन ११ गते साँझ करिब ७ः३० बजे कोहलपुर नगरपालिका–११ हरियालीमार्ग बसपार्क नजिक रहेको एक गेस्ट हाउसमा १४ र १५ वर्षीया दुई किशोरीलाई लगेर दुवै जनाले पालैपालो जबर्जस्ती करणी गरेको आरोप लागेको छ।
घटनापछि पीडित पक्षबाट उजुरी परेपछि प्रहरीले अनुसन्धान सुरु गर्दै आरोपितहरूको खोजी गरेको थियो। पक्राउ परेका दुवै जनाविरुद्ध जबर्जस्ती करणीसम्बन्धी कसुरमा कानुनी कारबाही अघि बढाइएको प्रहरीले जनाएको छ।
