काठमाडौँ । नुवाकोटको म्यागङ गाउँपालिकामा कार्यरत सूचना प्रविधि अधिकृत विरेन्द्र तामाङलाई घुस लिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ गरेको छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका अनुसार भुक्तानी भइसकेपछि पनि सेवाग्राहीसँग ‘कमिसन’ माग्दै बार्गेनिङ गरी दुःख–हैरानी दिएको भन्ने सूचनाका आधारमा आयोगको टोलीले निगरानी तथा अनुसन्धान गरेको थियो।
अनुसन्धानका क्रममा तामाङले सेवाग्राहीबाट घुसबापत एक लाख रुपैयाँ लिएको अवस्थामा काठमाडौं महानगरपालिका–१६ बालाजुबाट उनलाई नियन्त्रणमा लिइएको आयोगले जनाएको छ।
अख्तियारका प्रवक्ता सुरेश न्यौपानेका अनुसार तामाङको साथबाट घुसबापत लिएको एक लाख रुपैयाँ नगद तथा स्रोत नखुलेको थप ५ हजार रुपैयाँ समेत बरामद गरिएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ।
